arrow

कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग गगन थापाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
gagan-thapa-83-3-5.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

घटनाबारे सरकारसँग कडा प्रश्न उठाउँदै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्यले अझ बढी संयम, सतर्कता र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै समयमै पर्याप्त समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्नु सरकारको गम्भीर सुरक्षा कमजोरी भएको उनको ठहर छ।

सुरक्षा निकायका प्रमुखहरू परिवर्तन गर्नु मात्र पर्याप्त नहुने स्पष्ट पार्दै थापाले घटनाको निष्पक्ष छानबिन गरी यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन्। उनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्। साथै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार ढङ्गले व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेका छन्।

यसैबीच, सभापति थापाले सबै पक्षलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न विशेष अपिल गरेका छन्। उनले कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप जटिल हुन नदिन तथा शान्ति र सद्भाव कायम राख्न स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ