काठमाडौँ । गृह मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
गृह मन्त्रालयका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ ।
साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो । घटनामा परेर नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । रासस