काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भएमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
वार्ताका लागि अर्को अवसर प्रदान गर्न हाललाई सैन्य आक्रमणको निर्णय स्थगन गरिएको भए पनि संवादबाट कुनै निष्कर्ष ननिस्किए पुनः आक्रमण सुरु गर्ने उनले स्पष्ट पारेका छन्।
अमेरिकी अनलाइन न्युज पोर्टल एक्सियोसलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूहरू इरानसँग गम्भीर वार्ताको क्रममा रहेको र यसबाट सकारात्मक परिणाम ननिस्किए पुनः कडा सैन्य कारबाहीमा फर्किने बताएका छन्।
कूटनीतिक समाधानका लागि कति समय दिइन्छ भन्ने प्रश्नमा ट्रम्पले आफूहरूसँग धेरै समय नभएको र यो प्रक्रिया या त छिट्टै टुङ्गिने, नत्र अगाडि नबढ्ने प्रतिक्रिया दिएका छन्।
मध्यस्थकर्ता मुलुकहरू र अन्य क्षेत्रीय साझेदारहरूको आग्रहमा शुक्रबारका लागि तय गरिएको सैन्य आक्रमण रोकिएको उल्लेख गर्दै उनले अमेरिकी दबाबका कारण इरानी सैन्य शक्ति कमजोर भएपछि मात्र इरान वार्ताका लागि इच्छुक देखिएको दाबी गरेका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले अहिले राम्रो वार्ता भइरहेको र केही सकारात्मक नतिजा निस्कने सम्भावना रहेको बताएका छन्।
वार्ता सफल नभए दुई दिनअघिकै स्थितिमा फर्कने चेतावनी दिँदै उनले इरानको मुद्दामा अमेरिकी प्रशासन र इजरायली सरकारको धारणा लगभग समान रहेको बताएका छन्।
यसका साथै, हर्मोज जलसन्धि पार गर्ने क्रममा जहाजहरूमाथि भएको आक्रमणको क्षतिपूर्ति अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाटै असुल गरिने उनले पुनः दोहोर्याएका छन्।
क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टहरूका अनुसार ओमान र इरानबीचको वार्तामा केही प्रगति भए पनि हालसम्म कुनै औपचारिक सम्झौता भने भइसकेको छैन।