सुरुङमार्ग प्रवेशमा शुल्क पुनर्विचार गर्न यातायात व्यवसायीको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
322
Shares
काठमाडौँ। नेपालको यातायात पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ।
‘अपरेसनल’ र ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित समारोहबीच सुरुङमार्ग उद्घाटन गरिएको हो। यससँगै नेपाली जनताले दशकौँदेखि देख्दै आएको आधुनिक सडक सुरुङमार्गको सपना साकार भएको छ।
नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा सुरुङमार्ग युगमा प्रवेश गरेको भन्दै यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धि बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरुङमार्ग उद्घाटनलाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै देशभर निर्माणाधीन अन्य सुरुङमार्गको काम पनि तीव्र गतिमा अघि बढाउन सरकारसँग आग्रह गरे।
उनले सुरुङमार्गले यात्राको समय बचत गर्नुका साथै नागढुङ्गा सडकखण्डमा हुने दुर्घटनाको जोखिम पनि घटाउने विश्वास व्यक्त गरे।
यद्यपि, सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्नुपर्ने उनको धारणा छ। सञ्चालन खर्च र सार्वजनिक यातायात दुवैलाई असर नपर्ने गरी महसुल निर्धारण गर्न सरकारलाई आग्रह गर्दै उनले शुल्क धेरै भएको गुनासो व्यवसायीबाट आएको बताए।
उनले भने, "नागढुङ्गा सुरुङमार्ग उद्घाटन भएकोमा हामी खुसी छौँ। अब सरकारले अन्य निर्माणाधीन सुरुङमार्ग पनि फास्ट ट्र्याकमा सम्पन्न गर्नुपर्छ। सुरुङमार्गमा सार्वजनिक र मालवाहक सवारीका लागि तोकिएको शुल्कबारे पुनर्विचार आवश्यक छ। सञ्चालन खर्च र सार्वजनिक यातायात दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गरियोस् भन्ने हाम्रो आग्रह हो।"
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग केही दिन परीक्षण (ट्रायल) चरणमै रहनेछ। अन्तिम प्राविधिक परीक्षण (मक ड्रिल) सम्पन्न भएपछि सबै प्रकारका स्वीकृत सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। उनले सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कुनै शुल्क नलिने स्पष्ट पार्दै यसको डिजाइन आयु सय वर्ष रहेको जानकारी दिए।
उनले भने, "मक ड्रिल सम्पन्न भएपछि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँछ। पूर्ण सञ्चालनअघि कुनै शुल्क लिइँदैन। सुरुङमार्गको डिजाइन आयु सय वर्षको रहेको छ। उचित सञ्चालन र मर्मतसम्भार गर्न सके यो अवधि सहजै पूरा गर्न सकिन्छ।"
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको जटिल भौगोलिक अवस्थालाई ध्यानमा राख्दा सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य बन्दै गएको बताए।
उनका अनुसार चालु आर्थिक वर्षभित्रै निर्माणाधीन नौ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। साथै काठमाडौँ-तराई द्रुतमार्गसहित अन्य छ ओटा सुरुङमार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको उनले जानकारी दिए।
सचिव सिग्देलले सुरुङमार्ग सञ्चालनमा सुरक्षा, निगरानी तथा वायुको गुणस्तर कायम राख्न २४सै घण्टा प्राविधिक जनशक्ति आवश्यक पर्ने भएकाले सञ्चालन लागत बढी हुने बताए। भविष्यमा धेरै सुरुङमार्ग सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ।
उनले भने, "नेपाल अब सुरुङमार्गको युगमा प्रवेश गरेको छ। हाम्रो भौगोलिक अवस्थालाई हेर्दा सुरुङमार्ग सुरक्षित यात्राको प्रभावकारी विकल्प हो। समय बचत, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन भविष्यमा अझ धेरै सुरुङमार्ग आवश्यक छन्।"
सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा एक सय १५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यसैगरी बस र ठूला ट्रकले काठमाडौँ प्रवेश गर्दा दुई सय ६० रुपैयाँ र बाहिरिँदा दुई सय रुपैयाँ तिर्नुपर्नेछ।
सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।
तर भूगर्भीय जटिलता, डिजाइन परिमार्जन तथा अन्य प्राविधिक कारणले कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
लागत बढे पनि यस सुरुङमार्गलाई नेपालको आधुनिक पूर्वाधार विकासको नयाँ मानकका रूपमा हेरिएको छ।