arrow

अर्बपति उद्यमी चौधरीको कारणले सिर्जित राजनीतिक तरंग

logo
सुस्मिता सापकोटा,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
chaudhary_(2).jpg

काठमाडौं ।  नेपाली उद्यमशीलताको क्षेत्रमा चिरपरिचित नाम हो, विनोद चौधरी । नेपालका एक मात्र डलर अर्बपति उनको मुख्य पहिचान हो । यही पहिचानले उनी अन्तर्राष्ट्रियस्तरमा पनि परिचित छन् । फोब्र्सले प्रकाशन गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा उनको नाम सन् २०१३ देखि समावेश हुँदै आएको छ । तर उनै चौधरीको परिचय अहिले आएर एकाएक फेरिएको छ । प्रायः अखबारको आर्थिक पृष्ठमा छाउने चौधरी परिचय फेरिएसँग राजनीतिक पृष्ठमा छाउन थालेका छन् । अब नेपालका डलर अर्बपति मात्र नभई उनी हुन् नेपाली कांग्रेसका नेता, अनि आगामी प्रतिनिधि सभाका दाबेदार समानुपातिक सदस्य पनि । साविकको नवलपरासीबाट टुक्रिएको नवलपुरबाट पाटीको समानुपातिक सूचीमा परेका छन् चौधरी ।

पूर्णकालीन राजनीतिमा लागेको उद्घोष गरेका चौधरीलाई नेपाली कांग्रेसले आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजकको जिम्मेवारी दिएको छ र यो सँगै उनी विभिन्न चुनावी सभाहरुमा सहभागी भई आर्थिक समृद्धि र विकासका लागि कांग्रेसले खेल्ने भूमिकाका सम्बन्धमा मतदातालाई बुझाउन प्रयत्नशील छन् । नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री डा। सशांक कोइरालाको विशेष आमन्त्रणमा कांग्रेसको राजनीतिमा आएका चौधरी भावी दिनमा पाटीभित्रको दुई खेमाका साझा व्यक्तिका रुपमा विनोद चौधरी जम्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । त्यसो त पाटीभित्रका यी दुई खेमा वामगठबन्धनसँग जुझ्नका लागि होला, चुनावका बेला भने एकाकार नै भएको देखिन्छ ।

नेपालका राजनीतिक नेताहरु आफ्ना योजना जनतासमक्ष प्रस्तुत गर्नुभन्दा विपक्षीप्रति अनुदार र असहिष्णु भई गाली गलौज गर्ने र एक अर्काको अनर्गल प्रचार गर्ने कुसंस्कारमा अभ्यस्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आएपछि रुन पनि पाइँदैन’ भनेर वामपन्थी गठबन्धनप्रति कटाक्ष गरे । उता नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘चुनावपछि नेपालमा आउने वामपन्थी तुफानले बूढो रुख–सुख केही नराख्ने’ टिप्पणी गरे ।

उखान टुक्काका राजनीतिक बादशाह मानिने ओलीले नयाँ शक्ति नेपालका संयोजक एवं गोरखा २ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार डा. बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै ‘कर्कलोलाई बञ्चरो लगाउनुपर्दैन’ भनेर आफूभित्रको दम्भ र उन्मादलाई छरपष्ट पारे । यी कटाक्षका घटना नेपाली राजनीतिमा प्रतिनिधि घटना मात्र हुन् । एक अर्कामाथि कटाक्ष गर्ने र सो को प्रतिवाद गर्ने कुसंस्कारबाट शीर्ष नेता मात्र नभएर अन्य नेता कार्यकर्ता पनि नराम्ररी गाँजिएका छन् । यद्यपि फरक पृष्ठभूमिबाट राजनीतिमा आएकाले पनि होला, चौधरीले भने विपक्षीका विरुद्धमा बोल्ने गरेको पाइँदैन ।

चौधरी हालसम्म चुनाव प्रचारका क्रममा जति पनि स्थानमा पुगेका छन्, त्यहाँ उनले आफू राजनीतिमा प्रवेश गर्नुको कारण एवं आर्थिक समृद्धि र विकासका बारेमा मात्र बोल्ने गरेका छन् । त्यसो त उनी आफैले पनि भन्ने गरेका छन् कि केवल राजनीति गर्नका लागि उनी राजनीतिमा लागेका होइनन् ।

विपक्षीको विरुद्धमा समेत नबोल्ने एक जना उदीयमान नेता आफ्नै पार्टीभित्र कुनै खेमा वा व्यक्तिप्रति असहिष्णु र अनुदार हुने त झन् कुरै भएन । हुन पनि उनकै शव्दमा यदि उनी निहित स्वार्थपूर्तिको अभिष्ट पूरा गर्न कांग्रेसको राजनीतिमा लागेका होइनन् भने कतै लसक्क र कतै ठसक्क पर्न यी डलर अर्बपतिलाई के को जरुरत रु त्यसै पनि वर्षौं लामो उद्यमशीलताको यात्राका क्रममा चौधरीले आर्जन गरेको ख्याती उनको राजनीतिक अभियानको सृदृढीकरणका लागि सहयोगीसिद्ध भएको छ । त्यसैले त पूर्णकालीन राजनीतिमा लाग्ने घोषणा गरेको यति छोटो अवधिमै यति जमेर बस्न सकेका उनी ।

एक जना सफल उद्यमीको सक्रिय राजनीतिमा प्रवेशले आममानिसको मनमा निश्चय नै कौतुहल जगाइदिएको छ । त्यसैले त उनी पुग्ने कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहने गरेको पाइन्छ । चौधरीको मन्तव्य सुन्नैका लागि व्यग्रतापुर्वक प्रतीक्षा गरेकाहरुको भीड र उनीसँग सेल्फी खिचाउन लालयित युवा जमात खाली उनी केही हप्ताअघि राजनीतिमा लागेको प्रतिफल पक्कै होइन । यो त उनले वर्षौं लामो उद्यमशीलताको अनवरत यात्राबाट प्राप्त गरेको उपलव्धिको सार्थक परिणाम हो । त्यसैले त मतदातामाझ उनले नेपालमा अब राजनीतिक एजेण्डा सकिएकाले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने र यस अभियानको नेतृत्व नेपाली कांग्रेसले गर्ने  बताउँदै आएका छन् ।

विनोद चौधरी राजनीतिमा खारिएका अनुभवी खेलाडी होइनन्, न उनले पूर्णकालीन राजनीतिमा कहिल्यै आफूलाई समर्पित गर्न भ्याए । हुन पनि राष्ट्र र अन्तर्राष्ट्रमा व्यवसाय विस्तार र रोजगारी सिर्जना गर्दैमा उनलाई फुर्सत नै कहाँ भयो र ? सक्रिय राजनीतिमा अनुभव नभएपनि बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप सञ्चालनको अभिभारा बहन गर्नेदेखि नेपाल उद्योग वाणिज्य संघको सफल नेतृत्व गरिसकेकाले योजना निर्माण, त्यसको सफल कार्यान्वयन, सांगठनिक व्यवस्थापन, जनसम्बन्ध लगायतका सवालमा भने उनी सिद्धहस्त व्यक्तित्व हुन् भन्दा फरक पर्दैन ।
 
जीवनका चार दशकभन्दा बढी समय उद्यम कर्ममा लागेका चौधरीसँग उत्तेजक भाषण गरेर कार्यकर्ता जोस्याउने राजनीतिक चतुर्‍याईं छैन, न त छ असम्भव आश्वासन बाँडेर मान्छेलाई आफूप्रति आकर्षित गर्ने कला नै । तैपनि सर्वसाधारणको भीडमा उनकै खोजी भइरहेको छ र बढ्दो छ उनको लोकप्रियता । मतदातालाई शव्दजालमा फंसाउने र असम्भव आश्वासन बाँडेर उनीहरुको भावनामाथि कुठाराघात गर्नु उनी जत्तिको स्थापित र जिम्मेवार व्यक्तिका लागि शोभायमान हुँदैन पनि । क्षणिक रुपमा मानिसलाई जोस्याउन भन्दा वैचारिक ढंगले आफ्नो योजना जनतामाझ इमान्दारितापुर्वक राख्ने गरेकोबाट उनी दीर्घकालीन राजनीति गर्नैका लागि अगाडि बढेका हुन् भन्ने आभास मिल्दछ  । हुन पनि बेजोड मन्तव्यसहितको इमान्दार प्रस्तुतिका कारण आमसभाका मञ्चहरुमा मज्जाले जमेका छन् चौधरी । जनतामा राजनीतिक नेताप्रति वितृष्णा बढेकाले पनि होला उनको जति खोजी वर्षौदेखि स्थापित नेताकै पनि हुने गरेको पाइँदैन ।

निश्चय नै चौधरीको कांग्रेस आगमन र राजनीतिक सक्रियताले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । यसले लोकतन्त्रवादीहरुमा उत्साह जगाएको छ भने वामपन्थीहरुमा संशय पैदा गराइदिएको छ । हुन पनि आर्थिक समृद्धि र विकास अभियानको नेतृत्व विनोद चौधरीले लिएकै कारण पर्ख र हेर गरेर बसेका जनसाधारणको अभिमतलाई कांग्रेसले मतपत्रमा सुरक्षित गर्न सक्यो भने चौधरीको कांग्रेस आगमन नेपाली कांग्रेसका लागि फलदायी र वामपन्थीका लागि कडा चुनौती सावित हुन पनि सक्दछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ