arrow

क्रिकेट मैदान निर्माणः विनोद चौधरीले कुरा गरे धुर्मुस सुन्तलीले शुरु गरे

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
dhurmus-suntali-binod-chaudhary.jpg

भक्तपुर। नेपाली क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गरेसँगै क्रिकेटको पूर्वाधार निर्माणको चर्चा शुरु भएको छ। अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको अभाव खड्किरहेको बेला नेपालकै एकमात्र लिस्टेड अर्वपती विनोद चौधरीले क्रिकेट मैदानको प्रसङग उठाए। काँग्रेस सांसद समेत रहेका चौधरीलाई काँग्रेसकै प्रवक्ता विश्वप्रकाश शर्माले सधै चाउचाउ र विस्कुट मात्र नभनी आफ्नै पूर्खाको नाममा भएपनि क्रिकेट मैदान बनाउन आग्रह गरे। जवाफमा चाउचाउ र विस्कुट अर्थतन्त्रसँग जोडिएको प्रसङग उल्लेख गरेर चौधरी क्रिकेट प्रसङबाट बाहिरिए। 

चौधरी क्रिकेटको प्रसङबाट बाहिरिएपनि भुकम्प पिडितहरुका लागि एकिकृत नमुना बस्ती बनाउँदै तराईमा समेत एकिकृत नमुना बस्ती बनाएर चर्चामा रहेका धुर्मुस सुन्तली भने क्रिकेट मैदान बनाउन होमिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको उनीहरुको अभियानलाई प्रदेश नं ३ सरकारले अगाडि बढाउने भएको छ। 

मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित शनिवार भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गरेका छन्। मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरे। 

धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं प्रदेश सरकारले निर्माण गर्न लागेको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरिएको हो। जग्गाको निरीक्षणपछि क्रिकेट मैदानका लागि उक्त जग्गा उपयुक्त रहेको मुख्यमन्त्री पौडेलले बताए। 

उनले भने–“अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हामीले जग्गा हेर्‍यौ, जग्गा उपयुक्त लाग्यो अब प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मैदान निर्माण कार्य शुरु गरिन्छ।” 

क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रुपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताए। उनले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिए। 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाले गर्ने बताए। प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पुर्या‍उने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ