- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको प्रजातान्त्रिक आन्दोलनका अजम्बरी योद्धा विश्वेश्वर प्रसाद कोईरालाको आज ३६ औ स्मृति दिवश हो लामो समयको त्याग,संघर्ष र निर्वाशित जीवनबाट दक्षिण एसियामा उचो राजनैतिक कद स्थापित गरेका कोईराला नेपालको प्रथम जन निर्वाचित प्रधानमन्धी भएर राजनैतिक जीवनमा १८ महिनामात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला राष्टिय तथा अन्तर्राष्ट्रिय ख्यातिका महान् समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् ।
आफ्नो जीवनकालभर नेपाली राजनीतिको केन्द्रबिन्दु कोईरालाले देहावसानपछि पनि नेपाली राजनीति र समाजमा अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको जीवन्त र गर्विलो ईतिहास हाम्रा सामु छ ।
२००३ सालमा नेपाली काङ्ग्रेसको स्थापना,२००७ सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६ को ऐतिहासिक जनमतसङ्ग्रह, यी सबै महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहेको थियो । नेपाली काङ्ग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानियाँ राणाशासनको अन्त्य गरी नेपाल र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने काम कोइरालाकै अगुवाईमा भएको पाईन्छ ।
त्यस्तै नेपाली काङ्ग्रेसले सञ्चालन गरेको २०१४ सालको भद्र अवज्ञा आन्दोलनको दबाबकै कारण २०१५ सालमा बालिग मताधिकारका आधारमा पहिलो आमनिर्वाचन सम्पन्न भई तत्कालीन गतिरोधको अन्त्य हुनुका साथै सो चुनावबाट नेपाली काङ्ग्रेस दुई तिहाइ बहुमतले विजयी भई सत्ताको बागडोर सम्हाल्न पुग्यो । जुन सरकारको नेतृत्व विपि कोईरालाले नै गरेर आजका दिनसम्म पनी जनताले प्रत्यक्ष अनुभुति गर्ने गरेका धेरै जनपक्षिय कामको सुरुवात उनकै नेतृत्वमा भएको थियो ।
बिपी नेपालको इतिहासमा प्रथम जननिर्वा्चित प्रधानमन्त्री बन्न पुगे र उनकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन आदि कार्यहरू ग¥यो । बिपीकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले असंलग्न परराष्ट्रनीति अंगाल्नुका साथै निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदूर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य गर्याे । वीपी नेतृत्वको उक्त सरकारले किसानहरूलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका निम्ति अनुकूल वातावरण सृजना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पाईन्छ तर, त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको गला निमोठे सैन्यबलको आडमा । प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी उनको नेतृत्वको सरकार भङ्ग गरियो र पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । बिपी कोइराला, गणेशमान सिंहलगायत काङ्ग्रेसका शीर्षस्थ नेताहरूलाई सुन्दरीजल जेल चलान गरियो ।
वि.सं. १९७१ सालमा भारतको बनारसमा जन्मेका बिपी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक चेतनाले भरिपूर्ण थियो । उनका पिता कृष्णप्रसाद कोइराला बीसौं शताब्दीको शुरुआतमै भ निर्वासनमा जान बाध्य भएका थिए तत्कालीन राणाशासकहरूको विरोध गरेकै कारण । त्यसबखत उनको अपराध थियो राणा शासकहरूलाई एक गरीब नेपाली पुरुष र एक महिलाले लगाएका च्यातिएका दुई जोर लुगा पार्सल गरेर पठाउनु ।
उनको त्यस पार्सलको उद्देश्य थियो नेपाली जनताको वास्तविक स्थिति सत्ताको उन्मादमा रमाइरहेका शासकहरूले थाहा पाऊन् भन्ने । त्यसबखत राणाशासकहरू आफू भने मोजमस्तीको जिन्दगी बाँचिरहेका थिए तर, जनता भोकभोकै मरिरहेको उनीहरूका निम्ति चासोको विषय थिएन । अशिक्षा, गरीबी, भोक र रोगले पीडित नेपाली जनताको वास्तविक स्थिति राणा प्रधानमन्त्रीले थाहा पाउन् भनी कृष्णप्रसादले त्यति शाहस देखाएकोमा उनले आफ्ना सारा सम्पत्ति त्यागेर विदेशमा शरण लिनुपरेको थियो ।
६ वर्षको बालकको मानसपटलमा त्यसैबेलादेखि राणाशासनविरुद्ध आगोको ज्वाला दन्किन थालेको हुनपर्छ । जहानियाँ राणाशासनको अन्त्य गरिनुपर्छ र जहानिया शासन होएन नेपालमा पूर्ण प्रजातन्त्रको स्थापना गरिनुपर्छ भन्ने सोचले शायद त्यसै बेलादेखि बिपीको मनमष्तिस्कमा जरा गाडिसकेको थियो ।
सन् १९४० को दशकमा छिमेकी देश भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिई जेलसमेत बसेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आँधीबेहरी ल्याउन दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य जरुरी थियो भन्ने कुरा राम्ररी बुझेका थिए । क्षेत्रीय भूराजनीतिक वस्तुस्थितिको सही विश्लेषण गरेर नेपालको परिस्थितिअनुरूप नयाँ स्वरुपको राजनीतिक प्रणालीको परिकल्पना गर्न कोइराला आफ्नो तीक्ष्ण दिमागको उपयोग गर्न नचुकेको प्रष्ट हुन्छ ।
वीपीको व्यक्तित्व राष्ट्रियस्तरमा मात्र सीमित नभई दक्षिण एसियाका अन्य राजनेताहरूको दाँजोमा उनी पुगेको कुरामा शङ्का गर्ने ठाउँ छैन । एसियाका दुई ठूला राष्ट्रहरूका बीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बिपीको ठूलो योगदान रहेको छ । वीपीले भारतका समाजवादी नेताहरू राम मनोहर लोहिया र जयप्रकाश नारायण मात्र नभई बर्माका समाजवादी नेताहरूसँग पनि सम्बन्ध राखेका थिए अन्तर्रा्ष्ट्रिय समाजवादी आन्दोलन विस्तार गर्ने क्रममा चिनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई संग पनी उनको प्रगाढ सम्बन्ध रहेको पाईन्छ ।
वीपीले चीन भ्रमणका अवसरमा नेपालका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको नक्सा त्यहाँका राष्ट्रपति माओत्सेतुङसमक्ष प्रस्तुत गरी सगरमाथामा नेपालको आधा हिस्सा रहेको दाबी गरेका थिए, जसलाई माओले सजिलै स्वीकारेका थिए । चाउ एनलाईले त्यस बखत भनेका थिए सगरमाथा दुई देशको सीमानाको उत्तरतर्फ रहेछ र त्यसको चुचुराको झुकावचाहि दक्षिणतर्फ रहेछ । त्यसैले दक्षिणतर्फबाट सगरमाथा चढ्न जोकसैले पनि नेपालको अनुमति लिनुपर्ने कोइरालाको प्रस्ताव चीनले स्विकार गरेको हो । कोइराला अन्तर्रा्ष्ट्रिय समाजवादी आन्दोलनमा पनि अहम् भूमिका निर्वाह गर्न सफल भएका छन् । सोललिष्ट इन्टरनेशनल नामक अन्तर्रा्ष्ट्रिय समाजवादी संस्थाको सक्रिय सदस्य भई उनले नेपालको प्रतिष्ठा अन्तर्रा्ष्ट्रिय जगत्मा पु-याउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
२००७ सालको क्रान्ति कोइरालाकै अग्रसरतामा लडिएको थियो भने २०१७ सालको तानाशाही कदमपछि उनले पटकपटक सशस्त्र क्रान्तिको आह्वान गरेका थिए । तर, परिस्थितिको प्रतिकूलताका कारण त्यो सफलताको मार्गमा अघि बढ्न सकेन । २०१७ सालको प्रजातन्त्रविरोधी कदमको लगत्तै नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्तिको नारा दिएको थियो कोइरालाको नेतृत्वमा । तर, त्यसै बखत उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरू चीन र भारतबीच तनाव बढेका कारण अन्तराष्ट्रिय परिस्थिति प्रतिकूल हुन गएको कारण काङ्ग्रेसले फरक कार्ययोजना अपनाउँदै देशभित्र र बाहिरबाट प्रजातन्त्र पुनः स्थापनाका निम्ति सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गरेको पाईन्छ ।
भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको सङ्कटकालका कारण आप्mनो राजनीतिक गतिविधि सङ्कुचित हुन पुगेपछि राजनीतिमा सधैं क्रियाशील र गतिशील रहिआएका बिपी त्यो उकुसमुकुसको वातावरणमा छटपटाउन थाले र राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ सालमा स्वदेश फर्के । त्यसबखत नेपालमा पञ्चायतरूपी एकदलीय तानाशाही व्यवस्था विद्यमान थियो र बिपीलाई स्वदेश फर्किनु खतराको घण्टी बजाउनुसरह थियो ।
त्यसबखत बिपीले भनेका थिए, मेरो घाटीमा ७ ओटा मसिना डोरीहरू बाधिएका छन् त्यसको अर्थ हो विपिमाथि राजद्रोहका ७ ओटा मुद्दा लागेका थिए । हरेक मुद्दामा ज्यान सजायसम्म हुन सक्थ्यो । तर, बिपी त्यसरी विनामतलबको जोखिम मोलेर नेपाल फर्केका थिएनन् । उनले सम्भावित जोखिमको राम्ररी हिसाबकिताब गरेका थिए । लामो समयको निर्वासनबाट बिपी नेपाल फर्केपछि नेपालको राजनितिमा हचलच आयो । आफ्नो नेपाल बसाइका क्रममा बिपीले सामान्य विद्यार्थीदेखि राजासम्मलाई भेटेर आफ्ना विचारहरू राखेर राजनैतिक चेतना र जागरणको दियो बाल्न सफल भएको पाईन्छ ।
बिपी महात्मा गान्धीका ग्रामीण स्वावलम्बी अर्थतन्त्रका विचारहरूबाट प्रभावित भएको देखिन्छ । हेनरी फोर्डको जस्तो केवल मुनाफाकेन्द्रित अत्यधिक उत्पादनको सिद्धान्त नेपाल सुहाउदो नहुने उनको बुझाई रहेको छ । सरकारी कार्यालयमा राजारानीको फोटो टागेको देखेर त्यहा एउटा हलो जोतिरहेको किसानको पनि फोटो राखियोस ताकि योजनाहरू बनाउदा किसानलाई ध्यान दिन सकियोस् । हाम्रो देश गाउ नै गाउले भरिएको हुनाले किसानको हित भएमा मात्र देश अघि बढ्न सक्छ भन्ने दृष्टिकोण कति दिर्घकालीन रहेछ भन्ने कुरा स्पष्ट छ ।
२०१५ सालको आम चुनावमा नेपाली काङ्ग्रेसको विजयपछि प्रधानमन्त्री भएका कोइरालाले भनेको ‘नेपाली काङ्ग्रेसलाई तीनचोटि चुनाव जिताउनुहोस मेरो जत्तिकै मध्यम आय भएको नेपालीको स्तरमा सारा नेपाली जनतालाई प¥याउछु भन्ने भनाईबाट प्रष्ट हुन्छ कोईरालाको जनताप्रतिको उत्तरदायित्व ।’ ‘मेरो सानो घर, केही जग्गा र एकजोडी गाईगोरु छन् विराटनगरमा’ भन्दै अर्को दुईपटक चुनाव जितेपछि सबै नेपाली आपूmसरह हुने उनले परिकल्पना गरेका थिए ।
बिपीले आजभन्दा साढे पाच दशकअघि नै समावेशी प्रजातन्त्रलाई आत्मसात् गरेका थिए । तत्कालीन क्याबिनेटमा मधेशी, नेवार, जनजाति, महिलालाई स्थान दिएर जातीय र वर्गीय सन्तुलन मिलाइएको थियो । द्वारिकादेवी ठकुरानी बिपीका क्याबिनेटका मन्त्री हुन् जो नेपालकै इतिहासमा पहिलो महिला मन्त्रीमा गनिन्छन् । त्यसैगरी उनले गणेशमान सिंह, जमानसिंह गुरुड., प्रेमबहादुर आङदेम्बे, रामनारायण मिश्र, परशुनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई आफ्नो मन्त्रीमण्डलका सदस्य बनाएबाट उनी कति दूरदर्शी रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ ।
लामो निर्वासन जीवनपछि राष्ट्रिय मेलमिलापको रणनीतिअन्तर्गत स्वदेश आएपछि कोइरालाले राजासग मेलामिलापको निम्ति हात बढाएका थिए । राजासग हाम्रो सङ्घर्ष प्रजातन्त्रको सवालमा मात्रै हो, राष्ट्रियताको सवालमा राजा र हामी एकै ठाउँमा उभिनुपर्छ यो राजनैतिक दुरदर्शिता थियो वीपिमा । राजतन्त्र र प्रजातन्त्र नेपालमा एकअर्काका परिपूरक हुन् भन्ने उनको भनाइ तत्कालीन राजनीतिक परिस्थितिको सही विश्लेषण थियो ।
वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा बिपीले देशवासीका नाममा जारी गरेको सन्देशमा भनेका छन् ः हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दिएका थियौं । नेपाली काङ्ग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ, देशको अस्तित्वको रक्षा गर्ने । यसरी राष्ट्रियताको सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बाधिनुपर्छ भन्ने उनको आह्वान सो अपीलमा उल्लिखित छ ।
तर बिपी प्रजातन्त्रविनाको राष्ट्रवादलाई खोक्रो राष्ट्रवादको संज्ञा दिन पनि पछि पर्दैनन् । प्रजातन्त्रविनाको खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्दैन भन्ने उनको निष्कर्ष छ । त्यसो भएमा हामी खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्नेछौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं भनी उनी सबैलाई सचेत गराएका छन् ।
मेलमिलापको सिद्धान्तविपरीत सबै शक्ति आफ्नो हातमा पार्ने रणनीति अपनाउँदा २४० वर्ष पुरानो राजतन्त्रले नेपालबाट सदाको निम्ति बिदा लिनुपर्याे ।
संविधानसभामार्फत जनताको संविधान जनता आफैले बनाउने अधिकार नेपाली जनताले ६०—६५ वर्ष लामो सङ्घर्षको प्रतिफलस्वरूप आएको हो । नेपाली काङ्ग्रेसले पनि २०१४ सालमा सत्याग्रह गरेको संविधानसभाकै निम्ति थियो । तर, परिस्थिति अनुकूल नभइदिदा त्यो कार्य अधुरो रहन गएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने विचारप्रति बिपीमा तिव्र प्रतिवद्धता रहेको थियो । संविधानसभाको चुनावको कुरा बिपीले आजभन्दा ६ दशकअगाडि नै उठान गरेका हुन् ।
बिपी एक आदर्शवादी राजनेता थिए । उनी राजनीतिक दाउपेचमा भन्दा राजनीतिक मूल्य, मान्यता र आदर्शमा विश्वास गर्दथे । उनी राजनीतिलाई स्वस्थ र स्वच्छ रूपमा अपनाउन चाहन्थे । सायद त्यसैले होला बिपी व्यावहारिक राजनीतिमा त्यति सफल हुन सकेनन् र उनको जीवनको अधिकांश समय तानाशाही शासन व्यवस्थाविरुद्ध लड्दालड्दै बित्यो। उनले न त तानाशाही शासकहरूसग सम्झौता गरकोे न त अतिवादीहरूसग नै हात मिलाएको ईतिहाँस छ ।
२०३३ सालमा स्वदेश फर्कंदा उनका विरुकद्ध राजद्रोहका विभिन्न मुद्दा लागेका थिए । सो मुद्दाहरूका सम्बन्धमा अदालतमा बयान दिने क्रममा बिपीले काङ्ग्रेसको नाममा भएका सशस्त्र विद्रोहलगायतका सम्पूर्ण गतिविधिहरूको जिम्मा निसङ्कोच आफूले लिएका थिए । अदालती बयानका क्रममा बिपीले एकपटक भनेका थिए, मेरो जनक्रान्तिको आह्वानबाट कसैले हतियार सङ्कलन गर्न थालेका छन् वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी रहन्छ । त्यस्तै अर्को एक बयानका क्रममा पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाई सत्ता पल्टाउने आरोपमा बयान लिइदा बिपीले भनेका थिए, ‘अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकाले त्यस व्यवस्थाको ठाउ“मा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने काङ्ग्रेसको उद्देश्य रहेको छ । तर, यस व्यवस्थाको ठाउमा नेपाली काङ्ग्रेसको सरकार स्थापना गर्ने सङ्घर्ष गर्नुपर्छ भनी मैले कहिल्यै भनेको छैन ।’
दुरदर्शी राजनेता वीपी कोईरालाका अनुयायी हामीहरु वीपी कोईरालाले अगाडि सारेका समाजवादी सोच चिन्तन र व्यवहारलाई आत्मसात र अवलम्बन कति गरेका छौ र वीपी देखेका नेपाली समाजको सपना र उहाले कोरेको मार्ग चित्रमा नेपाली काँग्रेस हिडिरहेको छ या छैन यो अहं प्रश्न हो । प्रजातन्त्र ,समाजबाद,राष्ट्रिय एकता तथा मेलमिलाप जस्ता बहुआयामिक बिचारधाराका प्रबर्द्धक ,नेपालको प्रथम जननिर्वा्चित प्रधानमन्त्री एवम् महामानव वीपी कोइरालाको ३६ औं स्मृति दिवशको अवसरमा उहाप्रति श्रद्धा सम्मान र चिरस्मरण । (लेखक नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हुन् )