arrow

तेह्रथुममा काँग्रेस अधिवेशन : को हुन् सभापतिका आकांक्षी

logo
प्रकाश धौलाकोटी ।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
terathum.jpg.jpeg
तेह्रथुम। काँग्रेस तेह्रथुमको बुधबार हुने जिल्ला अधिवेशनमा सभापति पदकालागि दुई जना आकांक्षी देखिएका छन् । वर्तमान सभापति गोविन्द ढुंगाना र जिल्ला कार्य समितिका सदस्य राज्यप्रसाद लिम्बुले जिल्ला सभापतिमा आफुले उमेद्धारी दिने बताउदै आएका हुन् । पार्टी भित्रका गुट उपगुटको अन्त्य गर्ने बताउँदै आएका नेताहरुले आफुलाई कुनै गुटको भन्दापनि कांग्रेसको उमेद्धारको रुपमा बताएका छन् । कांग्रेसलाई सबल र सक्षम नेतृत्व चाहिएको र त्यसकालागि आफु सक्षम रहेको आकांक्षी ढुंगाना र लिम्बुको दाबी छ । 
 
बुधबार विहानैबाट निर्वाचन प्रक्रिया सुरु हुने भएपछि मंगलबार विहानैदेखि कांग्रेस नेता तथा कार्यकर्ता सदरमुकाम भित्रिएका छन् । काठमाडौँ पुगेका नेतादेखि गाउँ फर्किएका कार्यकर्तासमेत पुनः सदरमुकाम आइपुगेका छन् । निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन नेतृत्वमा आकांक्षीहरुको दौडधुप पनि उत्तिकै चलिरहेको छ । नेतृत्वमा सर्वसहमति जुटाउने प्रयत्न भएपनि आकांक्षी बढी भएपछि सहमतिको प्रयास सफल हुन नसकेको जिल्ला सभापति गोविन्द ढुंगानाले बताए ।एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशनले एक एक जना सभापति, सचिव र कोषाध्यक्ष सहित १० जना जिल्ला सदस्य र ११ जना महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । जिल्ला सभापतिकालागि वर्तमान सभापति गोविन्द ढुंगाना र जिल्ला सदस्य राज्यप्रसाद लिम्बु आकांक्षी देखिएका छन् । 
 
यस्तै सचिव र कोषाध्यक्षमा पनि निर्वाचन हुने सम्भावना देखिएको छ । तर दुवैतर्फबाट उमेद्धारको भने टुंगो लगाइसकेका छैनन् । बुधबार विहान ७ बजेबाट निर्वाचनका कार्यक्रम सुरु हुने निर्वाचन अधिकृत बालकुमार कटुवालले जानकारी दिए । मनोनयन दर्तापछि करिब दुई बजेबाट मतदान सुरु हुने बताइएको छ । जिल्ला अधिवेशनमा २ नगरपालिका र २१ गाविसका ३ सय ३४ जना क्षेत्रीय प्रतिनिधि, तीन जना पुर्वसभासद र सभासद सहभागी हुनेछन् । सभापतिमा उमेद्धारी दिने बताइरहेका नेताद्धयसँग छुट्टाछुट्टै कुराकानी गरी उनीहरुको बारे खोतल्ने प्रयास गरिएको छ :
 
नाम : गोविन्द ढुंगाना
जन्म : वि.स. २०१६ माघ ६ गते
अध्ययन : स्नातक तह (राजनीतिशास्त्र)
राजनीतिक यात्रा : ०४८ मा कांग्रेसको सदस्यता, ०५१ देखि पटक पटक गरी ११ वर्षसम्म जिल्ला सचिव, ०५९ देखि ०६२ सम्म पार्टीको सभापति, ०६३ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसबीच पार्टी एकतापछि पार्टीको सहसभापति र ०६७ सालमा भएको १२ औँ महाधिवेशनबाट सर्वसम्मत सभापति ।
 
सभापतिमा तपाइको उमेद्धारी किन ? 
 
पार्टीमा लामो समयदेखि काम गरिरहँदाका अनुभवहरुलाई संगालेर अझ पार्टीको संगठनलाई नयाँ ढाँचाबाट नयाँ विचार र दृष्टिकोणका साथ शशक्त बनाउँछु । पार्टीका सबै साथीहरुलाई एउटै मालामा टाँसेर सबैको अपनत्व हुनेगरी सबैलाई समान अवसर दिएर सामुहिक रुपमा अगाडि बढ्छु । पार्टीभित्र हुने र भएका समस्या र विकृतिहरुलाई अन्त्य गर्दै स्वच्छ र निरोगी, जनताको विश्वाशिलो र प्रतिष्पर्धी पार्टी बनाउँछु । 
 
नयाँ र पुरानाको विभेदलाई अन्त्य गरी सबै जातजातिको साझा चौतारीको रुपमा समावेशी पार्टी निर्माण गर्छु । विकास निर्माणको प्रतिफल लक्षित वर्ग र क्षेत्रमा पुर्याउन अझ शशक्त भुमिका निर्वाह गर्छु । जिल्लाका सबै विकास निर्माणलाई पारदर्शी र स्वच्छ बनाउन प्रयत्न
गर्दै स्थानीय प्रशासन एवं विकासे अड्डाहरुलाई जनताको पक्षमा काम गर्न गराउन खरो रुपमा उभिन्छु । शशक्त, जुझारु युवा साथीहरुको टिम निर्माण गरी पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा बेहोरेको हारको समीक्षा साथै असहयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउँछु ।
 
नाम : राज्यप्रसाद लिम्बु
जन्म : २०१२ फागुन २५
अध्ययन : (साधारण लेखपढ) कक्षा–८ उत्तीर्ण 
राजनीतिक यात्रा : २०३५ सालमा गा.स. निर्वाचित, ०३९ मा गाउँ पञ्चायतको प्रधानपन्च, ०४६ मा राप्रपा प्रवेश गरी गाउँ इकाई सभापति र जिल्ला कमिटी सदस्य, ०५७ मा कांग्रेस प्रवेश गरी सदस्यता ग्रहण, क्रियाशील सदस्यता, गाउँ सभापति र हाल जिल्ला कार्यसमिति सदस्य ।
 
सभापतिमा तपाइको उमेद्धारी किन ? 
 
कांग्रेसमा लामो समयदेखि क्रियाशील भएर काम गरेँ । एक पटक सभापति हुन्छु । कांग्रेसलाई मजबुत, बलियो र एकताबद्ध बनाएर लैजान्छु । पार्टीभित्र अनेकन विवादहरु छन् तिनको समाधान गर्छु । कांग्रेस भित्रको फाटोलाई चिरेर पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु । मेरो म्याङलुङमा पनि घर छ । यदि सभापतिमा मत दिनुभयो भने मलाई सदरमुकाम बस्न कुनै समस्या छैन । सभापति भएँ भने जिल्लामा म कसैलाई काखा र कसैलाई पाखा गर्दिनँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ