ललितपुरको झम्सिखेलमा चौधरी ग्रुपको 'भिभान्ता काठमाडौं' संचालनमा आउदै
चौधरी ग्रुपको होटल, ताज ग्रुपको व्यवस्थापन
प्रकाशित २०७५ असोज १६ मंगलबार
844
Shares
काठमाडौं। चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चार तारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्याती प्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ।
सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच यस सम्वन्धी संझौतामा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’का नाममा सञ्चालनमा आउनेछ।
हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्रयाएको हो। ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ। यसअघि ताजले चौधरी ग्रुप अन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ।
‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौँ। ताज जस्तो विख्यात ब्राण्डमा होटल संचालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौँ’, ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पुर्याउन प्रतिवद्ध छौँ। र, सोंही सोंचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्टहरूको निर्माण गरिरहेका छौँ।’
यो होटल सन् २०१८ को नोभेम्वरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ। हाल होटलमा आन्तरिक सजावटका कामहरू भईरहेका छन्। होटलमा सुइट सहित एक सय ११ रूम रहेका छन्।
इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने–नेपालमा चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवर्धित आर एण्ड आर होटल्स एण्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो। पर्यटकीय दृष्टिकोणले काठमाडौ प्रख्यात स्थान हो। यस साझेदारीले मेघौली सराईसँग टुरिष्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पुरा हुनेछ।
होटलको १० औँ तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ निर्माण गरिएको छ। जुन नेपालका लागि संभवतः नयाँ अनुभव सावित हुनेछ। त्यसैगरि होटलमा २५ देखी ३५ बर्ष उमेर समुहका युवाहरूलाई लक्षित गरि रुफ टप बारको व्यवस्था मिलाइएको छ जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिराहरू उपलब्ध हुनेछन्।
सुविधा सम्पन्न लबि, क्याफे, डाईनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ। पार्किङ्का लागि बेसमेन्ट पार्किङको ब्यवस्था गरिएको छ। शारीरिक ब्यायामका लागि फिटनेस क्लब उपलब्ध हुनेछ। ब्यवसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ। सुरक्षाको प्रत्याभुतिको लागि सिसिटिभि एवं अन्य सुरक्षा तथा मानवीय सम्वेदनशिलतालाई ध्यानमा राखि अलाम, फायर एक्सटिङ्ग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहनेछन्। होटेलमै साउना, सैलुन र स्पाको ब्यवस्था मिलाइने छ। चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाईलैण्ड, दुवई र भारतमा विख्यात होटल एवं रिसोर्टहरू संचालनमा छन्।
आर एण्ड आर होटल्स एण्ड रिसोर्ट
आर एण्ड आर होटल्स एण्ड रिसोर्ट नेपालको हस्पिटालिटि क्षेत्रलाई नयाँ उचाई दिने अभिप्रायले सी जी हस्पिटालिटिको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो।
यस कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति बिनोद चौधरीको ग्रुप हो। सी जी हस्पिटालिटि अन्तर्गत १२ देशका ,७० स्थानमा ९५ भन्दा बढि होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन। हाल सी जी गु्रपको मातहतमा सञ्चालित होटेलहरुको रुम क्षमता ५७ सय रहेको छ।
सन २०२० सम्ममा सी जी हस्पिटालिटिको पोर्टफोलियोमा २०० भन्दा बढि होटेल पुर्याई विभिन्न २० देशका १ सय स्थानमा पुर्याउने लक्ष्य छ। होटेलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्नेछ।
आर एण्ड आर होटेल्स एण्ड रिसोर्टको प्रबधक कम्पनीको रुपमा एनई गु्रपको शतप्रतिशत लगानी भएको सहायक कम्पनी शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रा ली रहेको छ। शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रा ली को अध्यक्षता श्री रभिभक्त श्रेष्ठ रहेका छन्।
द इन्डियन होटल्स कम्पनी लिमिटेड
द ईन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनीहरु अन्तर्गत सिर्जना भएका बिभिन्न ब्रान्डहरुले विशेष भारतिय आतिथ्य तथा विश्वस्तरिय सेवा प्रदान दिईरहेका छन। जसअन्तर्गत हस्पिटालिटि क्षेत्रमा परिचित ताज, परिष्कृत ठुला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रुपमा परिचित जीन्जर ब्रान्ड रहेका छन।
टाटा गु्रपका संस्थापक जमशेदजी टाटाले सन १९०३ बम्बईमा स्थापना गरेको द ताज महल प्यालेश यस कम्पनीको पहिलो होटेल हो। हाल यस कम्पनी अन्तर्गत १७० होटेल विश्वको ४ महादेश, १२ देश र ८० स्थानमा सञ्चालित छन। त्यस्तै २५ होटेल निमार्णको चरणमा छन।
बजार पुँजीकरणको आधारमा द ईन्डियन होटल्स कम्पनी लिमिटेड दक्षिण एसियाको ठुलो कम्पनीमा पर्दछ। कम्पनी भारतको बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जमा सुचिकृत छ।