arrow

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी सेन अवार्डद्धारा सम्मानित

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
nirvana-chaudhary.jpg

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।

चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनी अवार्डका लागि छनौट भएको वाई. पी. ओ.ले जनाएको छ । 

वाई. पी. ओले आफ्ना सदस्यमध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुदै आएका छन् । यो अवार्ड ११ बर्षअघि स्थापना गरिएको हो ।  

नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तीप्रति आफ्ना हरेक क्रियाकलापहरुलाई लक्षित गर्दै आएको चौधरी फाउण्डेसनले शिक्षा, स्वास्थ्य, उद्यमशिलता विकास, जीविकोपार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा ४३ विविध कार्यक्रम संचालन गर्दै आएको वाई. पी. ओ.ले उल्लेख गरेको छ । जस अन्तर्गत २२ वटा दीगो सामाजिक व्यवसाय, तीन हजार बढी विद्यार्थीहरुका लागि छात्रवृती, भूकम्प पीडितहरुका लागि आवास निर्माण एवं नमुना वस्ती विकास, सीप विकास कार्यक्रम मार्फत १६ हजारभन्दा बढी रोजगारी सृजना गरि फाउण्डेसनले महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

चौधरी फाउण्डेसनद्वारा निर्माण गरिएको शाश्वत धाम नेपालकै उत्कृष्ट गन्तव्यका रुपमा नेपाल सरकारबाट समेत सम्मानित भईसकेको छ । हाल शाश्वत धाममा प्रति महिना कम्तिमा एक लाख ५० हजार आन्तरिक एवं वाह्य पर्यटक पुग्ने गरेका छन् । 

अवार्ड ग्रहण गर्दै प्रवन्ध निर्देशक चौधरीले वाई.पी.ओ. को सेन अवार्डबाट सम्मानित हुन पाउनु आफ्नो र फाउण्डेसनको लागि गर्वको कुरा रहेको र यसले आफुलाई सामाजिक कार्य गर्न थप उर्जा एवं प्रेरणा प्राप्त भएको बताए। कुनैपनि सामाजिक कार्यलाई उच्च गुणस्तरको एवं दिगो रुपमा संचालन गर्नु चुनौतीको रुपमा रहेको र यसैलाई हाम्रो समाज र समग्र राष्ट्रको उज्वल भविष्यको रुपरेखा तयार गर्ने अवसरको रुपमा फाउण्डेसनले लिएको पनि उनले बताए।  

१९ बर्षको कलिलो उमेरमा सिजी फिन्कोको स्थापना गरी आफ्नो व्यवसायिक यात्राको प्रारम्भ गरेका चौधरी ३० बर्षको उमेरमा विश्वब्यापी ख्याती आर्जन गरेको चौधरी ग्रुपको प्रवन्ध निर्देशक जस्तो महत्वपूर्ण पदमा नियुक्त भएका थिए। 

२०१८ को सेन दिगो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वमा फेटजर भिनायार्डका सिईओ, गियानकार्लाे बियानचेटी (व्यवसाय तर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्ट यान बोर्गस्टेट (समानता तर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजावेथ किन्नी (प्रभाव तर्फ) तथा सोना युक्तिका सिईओ चोको भालिआपा (शिक्षा तर्फ) रहेका छन् ।

यङ्ग प्रेजिडेंट्स अर्गेनाइजेशन (वाई.पी.ओ.) १३० राष्ट्रका २७ हजार भन्दा बढी प्रमुख कार्यकारी अधिकारीेहरु रहेको विश्वव्यापी संगठन हो । यसका सदस्यहरु आफ्नो ज्ञान, नविनतम सोंच मार्फत विश्वजगतलाई प्रभाव पार्ने नेतृत्वदायी भूमिकामा रहेका हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ