चौधरी ग्रुपले यस बर्ष २० अर्व लगानी गर्दै, ‘सिजी लाईफसेल’ मा २५ अर्व लगानी हुने
सरकारी ढुकुटीमा चौधरी ग्रुपको योगदान डेड प्रतिशत भन्दा बढी
प्रकाशित २०७५ फागुन २६ आइतबार
872
Shares
काठमाडौं। चौधरी ग्रुपले राजश्वमा पुर्याएको योगदान सार्वजनिक गरेको छ। आइतवार एक बिज्ञप्ति सार्वजनिक गर्दै राजश्व र लगानीमा कम्पनीले गरेको योगदानको बिवरण सावर्जनिक गरेको हो। कम्पनीमा जारी बिज्ञप्तिमा अनुसार आर्थिक बर्ष २०७४/०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन्। उक्त आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको बताइएको छ।
चौधरी ग्रुपले आर्थिक बर्ष २०७३/०७४ को तुलनामा आर्थिक बर्ष २०७४/०७५ मा २२. ७२ प्रतिशत बढी राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको बताएको छ। उक्त बर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो। आर्थिक बर्ष २०७२/०७३ को तुलनामा भने यो राजश्व ७३ प्रतिशतले बढी छ। उक्तबर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान कम्पनीले जनाएको छ।
‘सरकारी राजश्वमा उच्च योगदान पुर्याउन सकेकोमा हामी गौरवान्वित छौँ। नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए। ‘हामी उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ। हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ।’
चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गर्दैछ। केही प्रोजेक्ट सम्पन्न भईसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेको जनाएको छ। यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलो मध्येको एक खानी सहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन्।
सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ। जसमा सिजीब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेको बताइएको छ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधि युक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाईफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ। यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ। यस परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवस्यक समर्थन र सहयोग प्राप्त हुने विश्वास बताएको छ।
चौधरी ग्रुपमा १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन्। ग्रुपद्वारा उत्पादीत वस्तु तथा सेवाको व्यवसायमा हजारौँको सहभागिता रहेको छ। चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सीजी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक रहेको बताएको छ। ग्रुपले प्रदेशनम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको जनाएको छ।