arrow

‘प्रधानमन्त्रीज्यू हजुरले काटेको केकको नक्सा हेरें मुटु छिया छिया भएर आयो’

‘मेरो देशको माटो सम्झेर आँसु झर्यो, नेपाल आमा रोइरहेको जस्तो लाग्यो, गौतम बुध्द र माता जानकीले सरापे जस्तो लाग्यो, सगरमाथाको शिर झुके जस्तो लाग्यो’ 

logo
तारा फुल्लेल,
प्रकाशित २०७६ फागुन १२ सोमबार
tara-phullel.jpg

सम्माननीय प्रधानमन्त्री ज्यू,

अभिवादन !!

जे सुने र जे देखें बडो ताजुव लागेर आयो,सधै हाँसो लाग्थ्यो यसपालि अलि भावुक बनायो । वर्थ डे मनाउनु भयो यो जो कोहिले पनि आफ्नो सामर्थ्य अनुसार मनाउँछ । यसमा प्रश्न गर्न मलाई अधिकार छैन । ए साँच्चै मैले त भुसुक्कै बिर्सेछु ६९ औं हैप्पी बर्थ डे है प्रधानमन्त्री ज्यू !

हजुरले काटेको केकको नक्सा हेरें मुटु छिया छिया भएर आयो । हजुरलाई राष्ट्रपिता पृथ्वीनारायण शाहले आफूलाई दाउमा राखेर एकीकरण गरेको मेरो मातृभूमिलाई केकको स्वरूप दिएर काट्न उक्साउनेहरूलाई धिक्कार छ । 

किन यस्तो अर्ति दिन्छन् प्रधानमन्त्री ज्यू ? किन यस्ता आसे पासे भरौटे राख्नुहुन्छ । अब हजुरलाई केको कमी छ र । जीवनको उत्तरार्धतिर हुनुहुन्छ । म अलि आस्तिक मान्छे । सधै भगवानको पूजा गर्छु । कुल सम्झिन्छु । भगवान सम्झिन्छु । पितृ सम्झिन्छु । ममा देशभक्ति जागोस् भन्ने कामना गर्छु र साथमा हजुरको स्वास्थ्य लाभको कामना गर्न पनि छुटाउँदिन म ।

हिजो (फागुन ११ गते आइतबार) बर्थ डे मनाउन जन्मघर जानु भएछ । हजुरको स्वास्थ्य र एउटा प्रधानमन्त्रीको नाताले हेलिकप्टर प्रयोग गर्नु भयो । यसमा कसैले  गुनासो गरेका छैनन् । जन्मघरमा जन्मदिन मनाउन पाउनु भाग्यको कुरा हो रे ।

यतिसम्म त प्रसंसनीय कार्य थियो तर गाउँपालिकामा बिदा दिनु भएछ । हेलिकप्टर चार्टर गरेर केक ढुवानी भएछ । ५–६००० हजार जनालाई भोज भतेर,आगन्तुक जतिलाई उपहार,गाउँपालिकाका शिक्षकलाई अनिवार्य उपस्थिति हुन भन्नु भयो भन्ने विभिन्न सामाजिक संजाल र मिडियाहरूबाट जानकारी पाएँ । यस्ता हर्कत अलि बढी भएन र । किन उक्साउँछन् हो प्रमज्यू हजुरलाई बेला बेलामा ।  हजुर कति बहकिनुहुन्छ यस्ता लहडमा ।

हजुर किड्नीको बिरामी । सत्ताको बागडोर हजुरको हातमा छ । किन शृजनशील काम र यस्तै यस्तै कार्यमा गरिने खर्च छत्रदेव गाउँपालिका वार्ड नं ८ अर्घाखाँचीकी सुनिता वि।क। जो अहिले दुबै मृगौलामा संक्रमण ‘लुफस नेफ्राइटिस्’ भन्ने रोगबाट ग्रसित छिन् र उपचार रकम नभएर छट्पटाई रहेकी छिन् । यी र यस्ता बिरामीको उपचारमा सहयोग गर्न सुझाउंँदैनन् हजुरलाई ?

केक काटेर जन्मदिन मनाउने हाम्रो परम्परा नभएता पनि हजुरले नेपालको नक्सा आकारमा बनाईएको केक काटेर  मनाइरहँदा हिंजो पार्टी प्यालेसमा धेरैको संख्यामा उपस्थित भएर भोज भतेरमा सामेल हुनेहरूलाई कार्वाहीको दायरामा ल्याउँछौं भन्ने हजुरहरू होइन र ? के सिक्छन् होला र कसरी मुल्यांकन गर्छन् होलान् आम नेपालीले थोरै पनि हेक्का राखिबक्सेन है ?

हजुरले नेपालको नक्सा आकारमा बनाइएको केक काटेर बाँड्दै गर्दा केक खानेहरूलाई अलिकति पनि नेपाल आमाको झल्को किन नआएको होला ?

थोरै पनि राष्ट्रवाद पलाउनु पर्ने होइन र ?  मलाई त नमज्जासंग पोल्यो,आफ्नै टाउको काटिएको भान भयो । 

मेरो देशको माटो सम्झेर आँसु झर्यो । नेपाल आमा रोइरहेको जस्तो लाग्यो । गौतम बुध्द र माता जानकीले सरापे जस्तो लाग्यो । सगरमाथाको शिर झुके जस्तो लाग्यो । 

माफ गर्नु होला प्रम ज्यू म अलि भावुक र आवेगमा आएर लेखेको भए । मैले त मेरो जन्मदिन अलि फरक तरिकाले मनाउने प्रण गरेको छु ।

हजुरहरूले छुट्याएको हिमाल,पहाड र तराई अब कसरी जोड्न सकिन्छ र चहराई रहेका घाउहरूमा कसरी मम्हमपट्टी गर्न सकिन्छ भन्ने अभियानको थालनी गरेर । 

सम्भव भयो भने र हजुरको स्वास्थ्यले साथ दियो भने हजुरले पनि सहयोग गर्नु होला है प्रधानमन्त्री ज्यू ! जय नेपाल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ