arrow

हुम्लामा चीनको विस्तारवादी चरित्र देखिएको कांग्रेस नेता शाहीको आरोप

११ नम्बर सीमा स्तम्भ शंकास्पद

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज १० शनिबार
jiban-bahadur-shai-karnali-mp-nc.jpg

हुम्ला। चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको लोलुङजोङको भुभागमा चीनले एकतर्फी रुपमा भवन निर्माण गरेको स्थान नेपालकै भएको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेपछि अहिले यसको बिरोध भएको छ । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर नेपाली सीमा मिचिएको सार्वजनिक भएपछि वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किसकेको छ । टोली फर्किएको २ दिन भई सक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति नेता शाहीले आशंका व्यक्त गर्दै पहिलो पटक उक्त मिचिएको जमिनका बारेमा बोलेका हुन् ।

२०६६ सालमा नेपालले नेपाल–चीन सीमाना ग्याक्पु दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै शाहीले सो क्षेत्र भन्दा यता नेपालपट्टी ललुङजोङमा चीनले भवन बनाएको उनले दावी गरे । सुरुमा दुईवटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो । अहिले आएर नेपाली भुभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले यसको व्यापक विरोध हुनुपर्ने बताए । उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ ।' लाप्चा क्षेत्रको सबै पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ । 

हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गर्न गएको टोली नफर्की परराष्ट्र मन्त्रालयले हतारोको टिप्पणी गर्नु, सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण माग्नु र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको शाहीले बताए । नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाउँदै अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले जोडदार माग गरेका छन् ।

हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराखि तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै हराउँदै नहराएको ११ नम्बर सिमा स्तम्भलाई हराएको भनेर बर्षेनी सिमा सुरक्षाको बैंठकका नाममा जिल्लाका सिडियो डिएसपीले आफु र आफ्ना परिवारलाई कैलाश मानसरोवर घुमाउने काम बाहेक अरु केही उपलब्धि नगरेका उनले बताए ।

'पछिल्लो समय नेपाली जमिनमा चीनले मनलाग्दी आफ्ना भवन निर्माण गर्नु, स्थलगत अवस्था बुझ्न लोलुङजोङ पुगेका हुम्लाका सुरक्षा अधिकारीहरुलाई धम्काउनु, बार्ता नगरी फर्काउनु, भेटाईयो भनिएको ११ नम्बर सीमा स्तम्भ पनि शंकास्पद हुन,' शाहीले भने, ' चिनियाँ दावी अघि स्थलगत अध्ययन गर्न गएको टोली मुख खोल्न नसकेरै फर्किनु र स्थलगत अध्ययन गर्न गएको टोलीनेता प्रमुख जिल्ला अधिकारीले २ दिन भई सक्दा पनि सिमाकाबारे मुख नखोल्नु यि सबै घटनाक्रम हेर्ने हो भने यस भित्र केहि न केहि रहस्य लुकेको छ।'

यदि सो क्षेत्र चीनको हो भने चीनको सिमानाबाटै लिमि–लाप्चा रोड खन्ने क्रममा हाल चीनले भवन निर्माण गरेको लोलुङजोङ भन्दा झण्डै तीन किलोमिटर पर (चिनियाँ क्षेत्रमा) पर्ने गबुयांल्सादेखि नै नेपालीलाई तिमिहरुको क्षेत्र हो भन्दै त्यतिबेला बाटो खन्न किन दियो र अहिले आएर सो क्षेत्रका बारे किन बोली फेरेर पछिल्लो समय थप ९ वटा सुविधा सम्पन्न भवन निर्माण गरेर लोलुङजोङ भन्दा झण्डै डेड किलोमिटर नेपालतिर आए उनले प्रश्न गरे। शाहीले भने चीनको यो दादागिरी बिस्तारबादको पराकाष्टा हो ।

नेपाली कांग्रेसले सरकारले गरेको हतारो र हुम्लाको सीमाको बिषयमा सरकारको गतिविधी रहस्यमयी भएको जनाएको छ। नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ पनि चिनियाँहरुले करिब डेढ किलोमिटर वर लोलुङजोङको नेपाली भूमीमा आएर भवनहरु बनाएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ