arrow

इलाममा फुकियो सरकारविरुद्धको बिगुल, ‘कसैले हाँगा काट्न खोजेर कांग्रेस सकिन्न’ – खतिवडा

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
congress-birodh-ramhari.jpg

इलाम । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको जिकिर गरेका छन् । नेपाली कांग्रेसले सोमबार इलाममा सरकार विरुद्धको बिगुल फुक्ने क्रममा नेता खतिवडाले ओली सरकारले नागरिकलाई पूर्णरुपमा निराश बनाएको बताए ।

उनले सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी गरे । ओली सरकारको पालामा भ्रष्टाचार बढेको भन्दै उनले ओलीले सत्ता हस्तान्तरण नगरेपछि पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल विरोधमा उत्रिएको बताए । 

कोरोना महामारीको उपचारमा खर्च गर्न नसक्ने सरकारले नेता तथा कार्यकर्तालाई करोडौँ रुपैयाँ छुट्याइरहेको खतिवडाको दावी छ । उनले ओली सरकार जनताको नभएर कम्युनिष्ट पार्टीको सरकार भएको तर्क गरे । खतिवडाले कम्युनिष्ट पार्टीमा मतदान गर्ने नागरिकलाई धोका भएकोसमेत बताए । 

इलामको टुडिखेलमा भेला भएर गरिएको प्रदर्शनका क्रममा खतिवडाले छिमेकी देशबाट आउने डेलिकेशन देशको समस्यामा भन्दा पनि आफ्नो पक्षमा पार्नका लागि पहल गरिएको आरोप लगाए । ‘कम्युनिष्टको कुरा बिक्यो, कांग्रेसको काम बिकेन’ भन्ने प्रसंगलाई झिक्दै नेता खतिवडाले  कांग्रेसले आफूले गरेका कामको प्रचारसमेत गर्नुपर्ने खाँचो औल्याए । ‘नेपाली कांग्रेस हरायो, सकियो भन्ने भ्रम कतिलाई रहेको’ भन्दै उनले भने, ‘कसैले तानेर र हाँगा काट्न खोजेर कांग्रेस सकिने होइन ।’

राजावादीको प्रदर्शनप्रति लक्षित गरी ‘संवैधानिक राजालाई कांग्रेसले मानेको स्मरण गर्दै खतिवडाले भने, ‘बहुजातीय नागरिक रहेको देशमा हिन्दू धर्मको वकालत गर्नु आवश्यक छैन ।” हिन्दूसँगै सबै धर्म नेपालको पहिचान भएको नेता खतिवडाको भनाई छ । कांग्रेसको सहभागिता बिना कुनै पनि परिवर्तन सम्भव नरहेको भन्दै यो शासन प्रणाली कुनै पनि हालतमा सरकारले परिवर्तन गर्न नसक्ने जनाए ।

त्यस्तै पूर्वमन्त्री एवं इलामका पूर्व जिल्ला सभापति केशव थापाले  पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्ेव्यहार आपत्तिजनक रहेको जनाए । कांग्रेसलाई सुतेको बाघको संज्ञा दिएका थापाले पौडेलमाथि गरेको दुव्र्यवहारले कांग्रेस जागेको दाबी गरे ।

मुलुकले ठोस संविधान पाए पनि कम्युनिष्ट सरकारले संविधानलाई कागजको खोष्टा बनाउने प्रयत्न गरेको उनले बताए । दुईतिहाइ मत प्राप्त गरेको सरकारमा भ्रष्टाचार र दलाली फस्टाएको उनको आरोप छ । कोरोना कहरको समयमा नागरिक अस्पतालमा छट्पटाइ रहे पनि सरकार गुठीको जग्गा कार्यकर्ताको हातमा पुर्याउन व्यस्त रहेको पूर्व मन्त्री थापाले आरोप लगाए । 

कार्यक्रममा बोल्दै नेता भेषराज आचार्यले सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको आरोप लगाए । उक्त विरोधसभामा बन्दना अधिकारी, विष्णु दाहाल,  विष्णु कार्की कोषाध्यक्ष, केदार थापा, डम्बर खड्का लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ