arrow

संसद् विघटन विरुद्ध कांग्रेसद्वारा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा प्रदर्शन

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
congress-sarlahi.JPG

सर्लाही । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा नेपाली कांग्रेसले सोमबार सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा अन्तर्गत संसद् विघटनको विरुद्धमा देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने केन्द्रीय कार्य समितिको निर्णानुसार यहाँका चारवटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध र्‍याली निकालेर विरोध सभा गरिएको हो ।

क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास बजारमा क्षेत्रीय सभापति प्रमोद बरालको सभापतित्वमा आयोजित विरोध सभालाई पूर्व मन्त्री तथा केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, महासमिति सदस्य शिव गुर्मछान र कल्पना पाख्रिन, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति दीपक अधिकारी, कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, लालबन्दी नगर सभापति प्रशान्त आचार्य, ईश्वरपुर नगर सभापति बेचु प्रसाद तिमल्सिना, हरिपुर नगर प्रमुखका प्रत्यासी उदयनारायण चौधरी, चन्द्रनगर गाउँपालिकाको अध्यक्षका प्रत्यासी श्याम सिंह लगायतले सम्वोधन गरे ।

यस्तै क्षेत्र नं. २ अन्तर्गत सदरमुकाम मलंगवामा क्षेत्रीय सभापति दिनेश मिश्राको सभापतित्वमा भएको सभालाई पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय, केन्द्रीय सदस्य जंगिलाल राय, नेपाल शिक्षक संघका पूर्व जिल्ला सभापति कौशलकिशोर राय लगायतले सम्वोधन गरे ।

त्यस्तै क्षेत्र नम्वर ३ अन्तर्गत बरहथवा बजारमा पनि र्‍याली निकालेर विरोध सभा गरिएको छ । त्यहाँ क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेको सभापतित्वमा आयोजित सभामा संविधान सभा सदस्य हरेश महतो, पार्टी जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, बरहथवा नगर सभापति उपेन्द्र कुशवाहा, हरिवन नगर सभापति रामशरण उप्रेती, बागमती नगर सभापति दीपक कुमार रानाभाट, प्रदेश सभा सदस्यका प्रत्यासी कृष्णदेव राय, नेता विघुप्रसाद चौधरी, नेतृ एशोदा चालिसे लगायतले मन्तव्य राखे।

 उता, ४ नं. निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति रामआश्र साहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला उपसभापति सुरेन्द्र कुमार सिंह, प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा र वीरेन्द्र कुमार सिंह, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी लगायतले मन्तव्य राखे । चारवटै स्थानमा भएको विरोध सभालाई सम्वोधन गर्ने नेता एवं नेतृहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ