arrow

प्रधानमन्त्री कप महिला क्रिकेट

उपाधिका लागि एपीएफ र प्रदेश १ बीच भिडन्त, विजेतालाई पाँच लाख रुपैयाँ 

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
pm-cup-woman-cricket-final.jpg

दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र प्रदेश १ भिड्दै छन् । सेमिफाइनलमा आफ्ना आफ्ना खेल जित्दै दुवैले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । 

विजेताले पाँच लाख तथा उपविजेताले ३ लाख रुपैयाँ जित्नेछ । त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । 

यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।  

पहिलो सेमिफाइनलः 
सुदूर पश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ फाइनलमा पुग्यो । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । 

फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । टिमलाई जिताउन ओपनर ब्याटर ज्योती पाण्डेले अविजित रहँदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहँदै १९ रन बनाएकी थिइन् । त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् । 

त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो । 

टिमले उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् । 

यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् । 

दोस्रो सेमिफाइनल
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो । खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८।५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो ।

जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४।१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।

लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् ।

बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २-२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ