arrow

मौसमसँगै प्रदूषणको असर

पश्चिमी वायुको असरले काठमाडौं सबैभन्दा विषाक्त, बुधबारदेखि सुधार आउने, पश्चिमतिर लाग्ने

पश्चिमी वायुले आफूसँगै बादल ल्याउँदा त्यसले ब्ल्यांकेटको काम गरिरहेको हुन्छ

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
weather-final.jpg

काठमाडौं । देशैभर मौसम बिग्रिएको छ । चिसो छ । तर तापक्रम ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा आइतबार न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेकामा सोमबार एक्कासी बढेर ९.५ डिग्री सेल्सियस पुग्यो । मंगबलार बिहान पनि तापक्रम ९ डिग्री रहेको छ । 

सोमबार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो । आईक्यूएयर डटकमका अनुसार काठमाडौंमा वायुको गुणस्तर सबैभन्दा प्रदूषितको शीर्ष स्थानमा रह्यो । मंगलबार पनि त्यसरी सुधार हुन सकेको छैन । 

सोमबार झण्डै ६–७ डिग्री तापक्रम बढेको छ सबैजसो स्थानमा । यसको प्रमुख कारण पश्चिमी वायुको प्रभाव रहेको वरिष्ठ मौसमविद् गंगा नगरकोटी बताउँछिन् । उनले भनिन्, ‘न्यूनतम तापक्रम वृद्धि हुनुमा चाहिँ पोलुसन भन्दा पनि पश्चिमी वायुको प्रभावले हो । पश्चिमी वायु आउँदाखेरी यसले आफूसँगै बादल लिएर आउँछ ।’

उनले थपिन्, ‘बादल आएपछि यसले ब्ल्यांकेटको जस्तै काम गरिरहेको हुन्छ । बिहानपख तापक्रममा भारी गिरावट आउनु पर्ने त्यो समयमा माथिल्लो वायुमण्डलमा बादल बसेपछि पृथ्वीबाट तापक्रम बाहिरिन पाउँदैन । त्यसकारण न्यूनतम तापक्रममा वृद्धि भएको हो ।’ 

प्रदूषण हुनुको कारणबारे उनले भनिन्, ‘पश्चिमी वायुले केही मात्रामा जलवाष्पयुक्त हावा पनि ल्याइरहेको हुन्छ । काठमाडौंको इन्डेक्स त्यो त ठ्याक्कै थाहा भएन तर जुन धुम्म परेको हुन्छ, तुवाँलो लागेको हुन्छ त्यो बन्नका लागि केही मात्रामा धुलोका कणहरु पनि आवश्यक पर्छ । कमेन्सेसन न्यूक्लियर भन्ने हुन्छ एकदम सूक्ष्म कणहरु हुन्छन् । त्यसले जलवाष्पीकरणलाई आक्रमण गर्छ । त्यसपछि त्यो झुम्मिएर बस्छ । धेरै नै जलवाष्प छ भने बिहानीपख हुस्सु र कुहिरो बन्छ । दिउँसो हुँदै गएपछि अलिकति पातलो हुन्छ । अनि तुवाँलो हुन्छ ।’ 

मौसमविद् नगरकोटीले काठमाडौंको मौसम बुधबार सफा हुने सम्भावना रहेको बताइन् । बुधबारदेखि काठमाडौं उपत्यकाबाट पश्चिमी वायु पश्चिमी दिशामा बाहिरिने उनले बताइन् । 

मंगलबारको देशभरको मौसम 
हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रहने छ ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न। १ को भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ