arrow

नेपाललाई भारतले अनुदानमा दिने कोरोनाको खोप ल्याउने प्रक्रिया बुधबारबाट 

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
nepal-india-flag.jpeg

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने कोरोना भाइरस महामारी विरुद्धको खोप दिने प्रक्रिया बुधबारदेखि शुरु हुने भएको छ । भारतस्थित विदेश मन्त्रालयले मंगलबार मिडिया सेन्टरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा भारतले बुधबारदेखि नेपालसहित भुटान, माल्दिभ्स, बंगालादेश, म्यानमार र पूर्वी अफ्रिकी राष्ट्र सेशेल्सलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जानकारी दिएको छ । 

विज्ञप्तिमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न बुधबारदेखि प्रक्रिया अघि बढाइने जनाइएको हो । विज्ञप्तिमा श्रीलंका, अफगानिस्तान र मौरिससका बारेमा त्यहाँको आवश्यकतालाई सुनिश्चित गर्न बाँकी रहेको बताइएको छ । 

यो विज्ञप्तिसँगै भारतबाटै कोभिशिल्ड खोप आउने निश्चित भएको छ । यसअघि औषधि व्यवस्था विभागले गत शुक्रबार मात्रै सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । 

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ ।

कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा रहेको बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोना विरुद्धको खोप लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले खोप प्राप्त भएपश्चात् एक साताभित्र लगाइने बताएको छ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारको योजना छ ।

१५ वर्षमुनिका बालबालिकाका लागि भने खोप नबनेकाले लगाइने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ