arrow

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

logo
हरि पन्त,
प्रकाशित २०७७ माघ ७ बुधबार
corona_vairous.jpg

पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२ पुगेको छ । आज बुधबार तीन जनाको मृत्यु भएसंगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२ नाघेको हो । यीमध्ये सबैभन्दा धेरै कास्कीका १११ जनाको मृत्यु भएको छ । मनाङ र मुस्ताङ जिल्लामा हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

गण्डकीमा आज मृत्यु हुनेमा पोखराका एक, स्याङ्जाका एक र नवलपरासी पूर्वका एक जना छन् । योसंगै गण्डकीमा पोखरा २९ की ३५ वर्षीया महिलाको आज बिहान ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार न्यूमोनिया र हेपटाइटिसबाट पीडित ती महिलामा पुस २९ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, स्याङ्जाको विरुवा ५ की ७० वर्षीया महिलाको पनि आज बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको डा. शर्माले जानकारी दिए ।

न्यूमोनियाबाट पीडित ती महिलामा मंगलबार कोरोना पुष्टि भएको थियो । उनको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यसैगरी गैडाकोट नगरपालिका वडा नं. १५ का ५५ वर्षीय पुरुषको आज मंगलबार साँझ मृत्यु भएको छ । उनको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

सक्रिय संक्रमित कति ?
गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या अझै पनि ४५५ जना रहेका छन् । हालसम्म १५ हजार २६४ जना संक्रमित भेटिएकोमा १४ हजार ६०७ जना निको भएका छन् । संक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ३०० जना छन् ।
गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गण्डकीमा एक लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २७५ जना संक्रमित थपिएको बताइएको छ । गण्डकीमा हाल तीन जिल्लामा सक्रिय संक्रमित छैनन् । जसमा गोरखा, मनाङ र मुस्ताङ छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ