arrow

कांग्रेसले वडावडामा विरोध प्रदर्शन गर्दै, कैलालीका १२६ वटै वडामा सभा गरिंदै 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
nepali-congress-flag.jpg.jpeg

कैलाली । प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसले आज(बिहीबार) कैलाली जिल्लाका १२६ वटै वडामा विरोध प्रदर्शनसहित सभा गर्ने भएको छ ।

सरकारको सर्वसत्तावाद, अधिनायकवाद र संसद विघटनलाई असंवैधानिक कदम ठहर गर्दै आएको काँग्रेसले केन्द्रीय कार्यक्रम अनुसार नै जिल्लामा प्रदर्शनको तयारी गरेको हो ।

विरोध प्रदर्शनका लागि नेपाली काँग्रेस कैलालीले यसअघि जिल्लाका १३ वटै स्थानीय तहका सबै वडाहरुमा नेताहरुलाई जिम्मेवारी बिभाजन गरि पठाएको थियो । गएको पुस ५ गते भएको विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली काँग्रेसले बिहीबार वडा तहमा विरोधसभा गर्न लागेको हो ।

स्थापनाकालदेखि बहुदलीय संसदीय लोकतान्त्रिक राज्य व्यवस्थाको स्थापना र विकासमा क्रियाशील रहँदै आएको काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध आजपनि देशभर प्रदर्शन गर्ने भएको छ ।

काँग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै गएको पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।

यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत हुन आग्रह गरेका छन् ।

सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।’ 

सभापति देउवाले पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा बिहीबारको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ