arrow

नैतिकता नभएका कम्युनिष्टले मुलुक हाँक्न सक्दैनन् : कांग्रेस नेता शर्मा

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
sukraraj-sharma.jpg

पोखरा । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नेपालका कम्युनिष्टसंग नैतिकता नभएकाले मुलुक यो अवस्थामा पुगेको बताएका छन् । कम्युनिष्टले प्रजातन्त्रवाद नमान्ने र प्रजातन्त्र नमान्नेसंग नैतिकता नहुने भन्दै नेता शर्माले नैतिकता नहुनेले मुलुक चलाउन नसक्ने स्पष्ट पारे ।

नेपाली कांग्रेस, पोखरा २५ इकाइले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले मुलुक प्रजातन्त्रवादीले मात्रै हाक्न सक्ने भन्दै त्यसमा पनि कांग्रेसको विकल्प नभएको बताए ।

जनताले दिएको दुई तिहाइको बहुमत नेकपाले प्रचण्ड-ओलीको लडाइँमा मात्र प्रयोग गरेको भन्दै नेता शर्माले कम्युनिष्ट सरकारले आफ्ना आसेपासे पोस्ने काम बाहेक केही नगरेको आरोप लगाए ।

कोरोना कहरले जनता रोइरहेको अवस्थामा सरकार भने आफ्नो कुर्ची जोगाउने खेलमा तल्लिन रहेको उनले बताए । उनले भने, ‘यस्ता सरकारबाट जनताले के आशा गर्ने ?’

कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो अपराधी भएको आरोप लगाए । उनले संसद र संविधानको हत्या गरेर देशकै ठूलो अपराधी र इतिहासकै कलंकित व्यक्ति भएको बताए ।

यतिबेला कांग्रेसको काँधमा ठूलो अभिभारा आएको भन्दै सभापति केसीले यस्तो विषम परिस्थितिमा कांग्रेस सुझबुझका साथ अघि बढ्नुपर्ने बताए । ‘कांग्रेसमाथि ठूलो जिम्मेवारी र अभिभारा आएको छ’, उनले निर्देशन दिंदै भने, ‘तपाइँ जहाँ हुनुहुन्छ त्यहीका जनतासंग बसेर सम्झाउने र बुझाउने काम गर्नुस् ।’

जनताको भावना बुझ्ने र मुलुक हाक्ने काम कांग्रेसले बाहेक अन्य कसैले गर्न नसक्ने सभापति केसीले ठोकुवा गरे । संसदको पुनस्थापना नै कांग्रेसको आधिकारिक धारणा रहेको भन्दै उनले यसमा कसैले पनि खुट्टा कमाउन नहुने बताए ।

पार्टीका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले मुलुक गम्भीर मोडमा फसेको भन्दै यसलाई जोगाउने दायित्व कांग्रेसको भएको बताए । उनले प्रजातन्त्र र संविधानको रक्षा गर्नकै लागि कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँ, टोलटोल पुग्न आवश्यक रहेको बताए ।

संविधानसभा सदस्य शारदा पौडेलले कम्युनिष्टहरु सत्तामा पुग्नु नै देशका लागि ठूलो दुर्भाग्य भएको भन्दै केपी ओलीलाई सत्तामा बस्ने नैतिक हैसियत नभएको बताइन् । अहिलेको कांग्रेसको मुद्धा भनेको संसद पुनस्थापना भएको उनले बताइन् ।

‘कांग्रेस चुनावमा जान डराएको होइन । कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी हो’, उनले भनिन्, ‘त्यसैले केपीको असंवैधानिक कदम सच्याउन पनि कांग्रेसले संसद पुनस्थापनाको मुद्धा उठाएको हो ।’

कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले भ्रष्टाचारमा लिप्त सरकारले बलात्कारी र अपराधीलाई नदेखेको, जनप्रतिनिधिमूलक संस्था संसद र संविधानमाथि नांगो हस्तक्षेप परेको आरोप लगाइन् । उनले असंवैधानिक कदम नसच्चिए ओलीको हालत पूर्वराजा ज्ञानेन्द्रकै जस्तो हुने चेतावनी दिइन् ।

पार्टीका क्षेत्रीय सभापतिद्धय पोषनाथ शर्मा र माधव प्रसाद बाँस्तोला मधुले कांग्रेसका लागि अहिले एउटा ठूलो र चुनौतीपूर्ण अवसर आएको भन्दै यो अवसरलाई सुझबुझपूर्ण ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनीहरुले कांग्रेसले झण्डा उठाउँदा पनि कम्युनिष्ट तर्सिएको र जनता जागेको भन्दै ओलीलाई सत्ताच्यूत गराउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

नेपाल महिला संघकी पोखरा महानगर सभापति माया बरालले कम्युनिष्टले कहिल्यै पनि देश र जनताको भलो नचाहने भन्दै वृद्धाभत्ता भँजाएर मात्रै खाने गरेको आरोप लगाइन् ।

युवा नेता तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले केपी ओलीका कारण जनता सडकमा मात्रै होइन मनमनै आन्दोलित भएको बताए ।

नेपाल तरुण दलका सभापति मनोज गुरुङले युवाहरु सडकमा उत्रिसकेको भन्दै ओलीलाई परास्त गरेरै छाड्ने उद्घोष गरे ।

पार्टीका सहसभापति दानबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सभापति मधुशुदन त्रिपाठी, महिला संघकी सभापति सृजना सापकोटा, पार्टीका उपसभापति नीलकण्ठ पौडेल, सचिव मोती तिमिल्सना लगायतले बोलेका थिए ।

विभिन्न व्यक्तित्व सम्मानित
कार्यक्रममा पार्टीका विभिन्न गतिविधिमा सक्रिय टोल कमिटी सभापतिहरु बोधराज सापकोटा, कालीका कार्की, पार्वती थापा, भोजराज पौडेल, रेवनाथ त्रिपाठी, महोदत्त पौडेल, गणेश प्रसाद अधिकारी, डिल्लीराम पौडेल, झम्कनाथ तिमिल्सिना, कूलदीप पौडेल, कृष्णबहादुर कुँवर र मक्तिराम भण्डारीलाई सम्मान गरिएको थियो ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित केशवबहादुर खत्रीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा दुई दर्जन बढी मानिस कांग्रेसमा प्रवेश गरेका छन् ।

देवीस्थान भजन मण्डलीलाई आर्थिक सहयोग
कांग्रेसका विभिन्न नेता कार्यकर्ताहरुबाट संकलित एक लाख एक हजार रुपैयाँ हेमजास्थित देवीस्थान भजन मण्डलीलाई हस्तान्तरण गरिएको छ । धर्म, संस्कार र संस्कृति रक्षा गर्ने संस्था भएकाले भजन मण्डलीको प्रवर्द्धनमा खर्च गर्ने गरी सहयोग गरिएको हो । नेता शुक्रराज शर्माको सक्रियतामा सो रकम संकलन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ