arrow

शालीनदीमा स्वस्थानी व्रत हुँदै, नियम पालना गर्नुपर्ने 

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
Swasthani_2016_hamrakura.jpg.jpeg

काठमाडौं । यही माघ १५ गतेदेखि फागुन १५ गतेसम्म एक महिने माधवनारायण स्वस्थानी व्रत साँखुको शालिनदी तीरमा बस्दैछ । यसको सम्पूर्ण तयारी पूरा भएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जानकारी दिएको छ । 

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले महिनामै २०–२५ लाख भक्तजन आउने यो मेला सञ्चालनको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सबैको चासो भएकाले त्यसलाई अनिवार्य पालना गर्नुपर्ने बताएका छन् । 

जिल्ला प्रशासन र सुरक्षा निकायबाट बारम्बार व्रत पूजा रोक्नका लागि दवाव आए पनि यसलाई संचालन गर्ने तर खुलेको भनेर नभन्ने गरी काम अगाडि बढेको छ । 

स्थानीय पत्रकार पवनलाल श्रेष्ठका अनुसार कोरोनाको महामारीबीच यस वर्ष सो व्रत र माघ मेला सञ्चालन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा रहे पनि यसलाई व्यवस्थित गरी संचालन गरिने बताए । उनले यस वर्ष कोभिड–१९ लाई ध्यानमा राख्दै श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालु संख्या करिब ४७–४८ जनामात्रै हुने हुने गरी व्रत पूजा सञ्चालन गर्ने कार्यविधि ल्याएको जानकारी दिए । 

उनले व्रतालु र भक्तजनको दूरी टाढा गरिएको र व्रतालुलाई भक्तजनले छुन नपाउने पनि बताएका छन् । श्रेष्ठले यसपालि समितिले मेला सञ्चालन नगर्दा पनि केही भक्तजनहरु शालीनदीमा नुहाउन आउने हुँदा उनीहरुको पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाईजर र मास्क वितरण गर्ने तथा होर्डिङ बोर्डहरु राखेर जनचेतना जगाउने बताए । 

उनले हाम्राकुरासँग भने, ‘उहाँहरु आफू पनि मास्क लगाएर त आउनु हुन्छ होला नै नभए हामीले यहाँ वितरण गर्छौं । व्रतालुलाई छुन दिन्नौं । हामीले व्रतालुहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न टाढैबाट गर्ने व्यवस्था मिलाएका छौं । दूरी कायम गर्न व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।’

यसअघि व्रतालुहरुलाई आवेदन दिन माघ १० देखि १२ गतेसम्मको समय दिइएको थियो । तर प्रशासनले व्रत पूजा खोल्नका लागि पूर्णरुपले स्वीकृति नदिएपछि औपचारिक रुपले आवेदन लिइएको छैन । तर ५० जनाभित्रै रहने गरी व्रतालुहरु पुगेका छन् । 

महामारी बढेका खण्डमा कुनै पनि बेलामा रोक्न पर्ने अवस्था आउने भएकाले पनि औपचारिक रुपमा यसपालि केही सार्वजनिक गरिएको छैन । आस्थासँग जोडिएको भएकाले पनि बन्द नै नगरेको तर स्वास्थ्य मापदण्डमा भने कडाइ गरिएको छ । 

माता पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेको आधारमा वरप्राप्तिसँगै परिवारको सुखशान्ति र दीर्घायूको कामना गर्दै स्वस्थानी व्रत बस्ने चलन रहिआएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ