- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक गैरसंवैधानिक कदमका विरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका कांग्रेस नेता गगनकुमार थापा शुक्रबार शान्तिबाटीकामा उभिएर अदालतप्रति फेरि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटतिर केन्द्रित हुँदै थापाले अदालतले काल्पनिक कुरामा नभइ संविधानमा आधारित भएर फैसला सुनाउनुपर्ने बताए । उनले भने, ‘सर्वोच्चको विषयमा बोल्न पाइँदैन भन्छन्, तर पुस ५ गतेको कदम असंवैधानिक हो र अदालतले यो भन्दा दायाँबायाँ कदम नचाल्ने हाम्रो विश्वास हो ।’
सबै नेपाली संसद पुनःस्थापना वा चुनाव भन्दा पनि संविधानका पक्षमा उभिनुपर्ने उनको भनाइ थियो । संविधानका पक्षमा भएको ब्यक्ति, जनता र न्यायको पक्षमा रहने जनाउँदै उनले भने,‘केपी ओलीको असंवैधानिक कदमका बारेमा कांग्रेस बोलेको छ, अदालतलेपनि दाँयाबाँया फैसला गर्दैन भन्नेमा विश्वस्त छु ।’
बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन भनेरै संविधानमा संसद विघटनको प्रावधान नराखेको जनाउँदै थापाले भने,‘ओलीको यो प्रस्ताव सदर हुने हो भने जनता र जनताको प्रतिनिधि संस्था संसदको अपमान हुन्छ ।’
पूर्वन्यायाधीशमाथि लगाइएको मानहानीको मुद्दातर्फ इङ्गित हुँदै थापाले प्रधानमन्त्रीले अदालतलाई ‘तमासा’ भनिरहँदा पूर्वन्यायाधीशहरुको विषयमा अदालतले दुधको दुध पानीको पानी छुट्याउनुपर्छ ।
प्रधानमन्त्री ओलीलाई नेपाली जनताले ‘अधिकार खोस्ने शासक’ का रुपमा वर्षौसम्म चिनिरहने बताउँदै थापाले भने, जनतालाई अपमान गर्ने प्रधानमन्त्रीको नाम अधिकार खोस्ने शासकको रुपमा लेखिनेछ । जनताले खराब शासकका रुपमा ओलीलाई चिन्नेछन् ।’