arrow

विद्यालय स्तरीय यू-१९ राष्ट्रिय क्रिकेट फागुन १५ देखि

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
cricket3.jpg

कैलाली । विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (लिटल फ्लावर प्रिमियर लिग)को आगामी संस्करण फागुन १५ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।

कोरोना महामारीले झन्डै एक वर्षसम्म प्रभावित बनेको शिक्षासँगै विद्यालय स्तरको खेललाई पुनः शुरु गर्न सो लिगको आयोजना गर्न लागिएको हो।

आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ७० प्रतिशत तयारी सम्पन्न भएको जनाएको छ।

इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले महामारीले थिलथिलो बनेको शिक्षासँगै विद्यालय स्तरको खेल क्षेत्र र खेलाडीहरुलाई फेरि पूरानै लयमा फर्काउन सरकारी तथा निजी क्षेत्रले अहिले अहम् भूमिका खेल्नुपर्ने देखिएकाले आर्थिक सङ्कटकै बीचबाट पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको बताए।

‘महामारीले विद्यालय तथा व्यापार व्यवसाय ठप्प बनेको छ। सँगसँगै खेल क्षेत्र पनि ठप्प भयो’, उनले भने, ‘अब हामी निजी स्तरबाट खेल क्षेत्रको उत्थानमा लागिपरेकाहरुले यो क्षेत्रसँगै खेलाडीको करियरका विषयमा समेत सोच्नुपर्ने समय हो यो।

त्यसैले आर्थिक चपेटाकै बीचमा पनि जोखिम मोलेका छौं। पुरस्कार राशी घटाएर भए पनि खेलाडीलाई खेल क्षेत्रमा फर्काउनुपर्छ भनेर हामी आगामी संस्करणलाई सफल बनाउन अघि बढेका हौं ।’

उनले आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए।

प्रतियोगितामा विद्यालय स्तरका यू-१९ का खेलाडीहरुले सहभागिता जनाउने छन्। लिग कम नक आउटमा खेलाइने प्रतियोगितामा देशभरका करिब १२ विद्यालय सहभागी हुने शाहीले जानकारी दिए।

विगतमा ४ जनासम्म १९ वर्ष मुनिका विद्यालयबाहिरका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका ३ जना मात्रै खेलाडी प्रतिटिममा सहभागी गराउने जनाइएको छ।

एलपीएलको पाँचौं संस्करणको मुख्य प्रायोजनका लागि कैलालीको टीकापुरस्थित चण्डिका ग्रुपसँग सम्झौता भएको छ। योसँगै प्रतियोगिताको पाँचौं संस्करणको नाम चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग भएको छ।

‘कोरोनाको महामारीको बीचमा प्रतियोगितालाई निरन्तरता दिन सक्नु नै ठुलो हो’, अध्यक्ष शाहीले भने, ‘यो प्रतियोगिता भनेको क्रिकेटको जग हो। त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौं, जसरी पनि गर्छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ