arrow

धनुषाधाममा बढ्न थाल्यो श्रीरामले भाँचेपछि झरेको धनुषको मध्य टुक्रा !

तीनै तहको सरकारले देखाएनन् चासो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १८ आइतबार
dhanusha-dhanus-ramchandra.jpg

धनुषा । धनुषाको पूर्वोत्तर क्षेत्रमा अवस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्ने गर्दछ । परम्परागत रुपमा वर्षभरी गरिएको भाकल माघभरी चढाउने गरिन्छ । आइतबार तेस्रो मेला हेर्न श्रद्धालु भक्तजनको भिड लागेको छ । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाममा मकर मेला हेर्न आउने श्रद्धालु भक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको धनुषा धाम मन्दिरका पुजारी भरत दासले बताए ।

यस वर्ष कोरोना महामारीले गर्दा नेपाल–भारत सीमा क्षेत्र बन्द रहनुका बाबजुद श्रद्धालुहरु उल्लेख्य संख्यामा आएका मन्दिरका पुजारी दासले बताए । पुजारी दासका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेमा एक सय रामेश्वरको दर्शन गरेको बराबर फल प्राप्त हुने मान्यता रहेको छ ।

त्रेता युगमा भगवान रामले सीता स्वयंवरमा भगवान शिवको धनुष भाँचेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो । राजा जनकले छोरी जानकी अर्थात् सीताको विवाहका लागि आयोजन गरेको स्वंयवरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, एक टुक्रा पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको पौराणिक कथा रहेको छ। धनुष खसेको जनकपुरधामको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका पुजारी भरत दासले जानकारी दिए।

धनुषाधाममा खसेको धनुषको कालो रंगको शिलामाथि अहिले पिपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको पुजारी दासले बताए ।
पिपलको बोटमुनि नागको बास रहेको स्थानीयवासी हरुले बताए । औंसी तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रङ्गिने जनविश्वास रहेको छ।

धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि प्रत्येक माघमा मकर मेला लाग्न थालेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण र भन्टा को भार अर्पण गरी पूजा अर्चना गर्नेगर्छ।

जनकपुरधामबाट २० किलोमिटरको दुरीमा रहेको धनुषाधामस्थित धनुष मन्दिर पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण स्थल रहेका छन् । तर यो मन्दिरलाई न नेपाल सरकार , न प्रदेश सरकार न स्थानीय तह कुनै चासो लिएकोमा मन्दिरका पुजारी भरत दासले गुनासो गरे। दासका अनुसार  प्रदेश सरकारले ध्यान दिए यहावाट करोडौं आम्दानी हुनेछ। यस स्थलको धार्मिक महत्वका कारण यस क्षेत्रको नाम धनुषाधाम र यसकै नाम अनुसार जिल्लाको नाम समेत धनुषा राखिएको हो ।

त्रेता युगको इतिहास बोकेको यस स्थलको दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन् । सुरुमा खुला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडिमात्रै मन्दिरको स्वरुप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासले बताए । स्थानीय केही व्यक्तिहरुको व्यक्तिगत सहयोगबाट मन्दिरको निर्माणसँगै सौन्दर्यीकरण समेत गरिएको छ ।

धनुष झरेको स्थलमा कालो सिमेन्ट झैँ ढुंगा झरेको देखिन्छ । धनुषको सानो आकृतिमा रहेको सो टुक्रा बर्षेनी बढ्दै गईरहेको पुजारी दासले बताए । धनुषको भनिएको सो टुक्रा किन फैलिरहेको छ भन्ने अहिलेसम्म रहस्य कै गर्भमा छ । कालो ढुंगाजस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टिसमेत अहिलेसम्म विज्ञहरुले गर्न सकेका छैनन् ।

मन्दिरभित्रै रहेको पिपलको बोटकै छेउमा सानो कुण्ड छ , सो कुण्डको नाम पाताल गंगा हो । पाताल गंगाले प्रकृति र यो वर्ष कस्तो रहने भन्ने संकेत गर्छ । कुण्डको पानी धर्तीको सतहभन्दा माथि हुँदा वर्षभरी शुभ रहने र धर्तीको सतहभन्दा पानी तल हुँदा अनिष्टको संकेत गर्ने पुजारी भरत दासले बताए । यस वर्ष पानीको सतह तल रहेकाले अनिष्टको संकेत गरिरहेको मन्दिरका पुजारी भारत दासले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ