- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लाभर विरोध प्रदर्शन र सभा गर्दैछ ।
कांग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदशर्नमा गर्न लागेका हुन् । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेसले नै नेतृत्व सम्हालेको थियो भने यो चरणमा भ्रातृसंस्थाहरुलाई एकजुट भएर अगाडि जान आह्वान गरेसँगै भ्रातृसंस्थाहरु संगठित भएर संयुक्तरुपमा प्रदर्शन गर्न लागेका हुन् ।
सबै जिल्लामा जिल्लाले नै समन्वय गरेर कार्यक्रम हुँदैछ । यसैबीच १३ भ्रातृसंस्थाले संयुक्त रुपमा सहभागीताका अपील गरेका छन् । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध हुने प्रदर्शनमा सहभागीताका लागि अपील गरेका हुन् ।
‘नेपाल कम्युनिस्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौँ’’ संयुक्त अपीलमा भनिएको छ ।
अपिलमा सरकारले चरण भ्रष्टाचार गरेको र भ्रष्टाचारलाई बढावा दिएको तथा जनसरोकारका विषयमा समेत उदासीनता देखाएको आरोप लगाइएको छ । अपीलमा भनिएको छ, ‘संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता यी समग्र मुद्दालाई अघि सारेर हुने प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौँ ।’
नेविसंघले पदाधिकारीलाई प्रदेशमा नामै तोकेर प्रतिनिधि खटाएको छ ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । आइतबारसम्म मुद्दा निवेदनकर्ताका तर्फबाट बहस सकिएको छ । सोमबारदेखि सरकारका तर्फबाट बहस हुँदैछ ।