arrow

भागरथीकी आमाको चित्कार- 'छोरीलाई लुछेर हत्या गर्नेलाई कारबाही भए मलाई केही चाहिदैन'

logo
राम धामी,
प्रकाशित २०७७ माघ २६ सोमबार
bhagirathi-mom.jpg

डडेलधुरा । बलात्कारपछि निर्मम हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घरमा समवेदना व्यक्त गर्न पुगेका नेपाली काँग्रेस डडेलधुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले आफ्नो आधा महिनाको तलब र आफूसँगै त्यहाँ गएका सहकर्मीहरूले राहा स्वरूप प्रदान गरेको रकम मृतककी आमालाई दिए तर अन्दाजी ४६ बर्षीया आमा द्रोपती भट्टले रकम समाउन इन्कार गरिन् ।

‘राहा भन्दा पनि छोरीका हत्यारालाई खोजेर कारबाही गरिदिनुहोस्,’ गहभरिँ आशुँ झार्दै उनले भनिन् ‘मेरी किशोरी छोरीलाई लुछेर निर्मम हत्या गर्ने व्यक्तिलाई कारबाही भए मलाई अरुथोक केही चाहिदैन् ।’ नेपाली काँग्रेस बैतडीका सभापति तथा दशरथ चन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिँह थापासँगै मृतकको घरमा पुगेका सांसद मल्लले प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताउँदा परिवारजन र आफन्तजनहरूले पत्याएनन् ।

पाँचदिनदेखि चडेपानी गाउँ शोकाकुल छ । १७ बर्षीया किशोरीको बीभत्स हत्या प्रकरणले स्थानीय सन्त्रस्त छन् । गत महिना मात्रै ५० वर्षीय पति कृष्णानन्द भट्टलाई गुमाएकी द्रोपतीको घरमा अर्को बज्रपात भएको छ । पाँचदिनदेखि खाना खान नसकेकी द्रोपतीको एक मात्रै सहारा भागरथी थिइन् । बाबुको काजक्रिया १६ दिनमै सकेर २० वर्षीय छोरा केशव कामको खोजीमा भारत पसेका थिए । उनले भारत पुगेर काम नपाउँदै बहिनीको बीभत्स हत्या भएको खबर सुने । हतारमा आईतबारमात्रै घर फर्किएका केशवले हाल आमालाई सम्झाई रहेका छन् तर, बहिनीका हत्यारालाई कारबाही हुने कुरामा स्वयम् केशव पनि विश्वस्त हुन सकिरहेका छैनन् ।

आमाले रकम समाउन इन्कार गरे पनि सांसद मल्लसहितको टोलीबाट प्राप्त रकम बुझेका केशवले न्यायको लडाई लड्न सबैको साथ पाउने विश्वास व्यक्त गरे । ‘कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या भएको घटना लामो समयदेखि ओझेलमा छ, सरकारले छानबिन गरेर दोषी पत्ता लगाउँदै न्याय दिन्छ भन्ने आशा पटक्कै छैन,’ केशवले भने । उनले बहिनीको हत्यारालाई कारबाही नभएसम्म गाउँमा सन्त्रास कायमै रहने बताए ।

चडेपानी र आसपासका बस्तीहरूमा किशोरीहरूलाई एक्लै विद्यालय पठाउन, मेलापात र पानी पँधेरोमा पठाउन नसकिने अवस्था सिर्जना भएको नेपाल तरुण दल बैतडीका सभापतिसमेत रहेका स्थानीय अगुवा घनश्याम भट्टले बताए । उनले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदी, एसएसपी जनकराज पाण्डेयसहित केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी पञ्चकुमार बाँखुसहितको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेकाले केही आशा बढेको भए पनि सर्वत्र सन्त्रास कायमै रहेको जिकिर गरे ।

घटनास्थलदेखि तीन किलोमिटर टाढा रहेको खोचलेकस्थित प्रहरी चौकीमा बसेर उच्च पदस्थ प्रहरी अधिकारीहरूको टोलीले अनुसन्धान गरिरहेको छ । बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको जनाएको छ । प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाइएको छ । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गएको बुधवार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । शवको पोस्टमार्टम रिपोर्ट भने प्रहरीले प्राप्त गरिन सकेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले जानकारी दिए । उनले सूक्ष्म रूपमा घटनाको अनुसन्धान अघि बढिरहेको बताउँदै ढिलो चाँडो अनुसन्धान सफल हुने विश्वास व्यक्त गरे । ‘क्लुहरू भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौँ । विभिन्न कोणबाट अनुसन्धान जारी छ । मृतक किशोरीको ‘भेजाइनल स्वाब’ र केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ ।’ उनले भने ।

मृतक किशोरी भागरथीले भारतीय सीमकार्डसमेत प्रयोग गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले भारतीय सीमकार्ड प्रयोग गर्दै आएका छन् । भारतमा आफन्तसँग कुरा गर्नका लागि भागरथीले सीमकार्ड राखेको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् । कतिपय कुरामा आवश्यक परे भारतीय प्रहरीको समेत सहयोग लिन सकिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा एक जनाको संलग्नता हुनसक्ने सम्भावना बढी देखिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार बुधवार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कल ब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चार जना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरूबाट छुट्टिएर एक्लै हिँडेकी थिइन् । बिहीबार उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको र यौनीबाट रगत बगेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग सङ्घर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ ।

स्थानीय अगुवाहरूले प्रहरीलाई विश्वास गरेर अनुसन्धानमा सघाउने भन्दै आइतबारदेखि बन्द र हडतालका कार्यक्रमहरू स्थगित गरेका छन् । मृतकको शव जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम भइसकेको भए पनि आफन्तहरूले बुझेका छैनन् । हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनहरूको अडान छ । तीन दिनका लागि सिङ्गो बैतडीमा शैक्षिक हडताल गरिएको र अनुसन्धानमा लापरबाही भएको आशङ्का उत्पन्न हुने बित्तिकै पुनः बन्द र हडतालमा उत्रिने स्थानीय स्तरमा गठित सङ्घर्ष समितिले जनाएको छ । पछिल्लो समय बैतडी मात्रै नभई छिमेकी जिल्लाहरूमा समेत भागरथीलाई न्याय माग्दै दिनहुँ आन्दोलन भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ