- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
४० वर्षभन्दा मुुनिका महिलाहरु ‘नाबालक’ हुन भन्ठानेर सरकारले ‘वडा’ र ‘परिवार’सँग ‘आज्ञा’ मागेर मात्र बाहिर जाने नीति बनाउन लागेको छ । यो पढ्दा मलाई अफगानिस्तानको याद आयो ।
मुस्लिम बाहुल्य भएको देशमा अफगानिस्तानमा मैले १८ बर्ष अघि काम गर्दा त्यहाँको मुल्लाहरुले महिलालाई गरेको व्यवहार, घर भित्र नै बसिरहनु पर्ने र बाहिर काम गर्न जान नपाउने महिलाहरुको व्यथा, बाहिर कतै जानुपरे सानो भए पनि केटालाई नै लिएर हिड्नु पर्ने अवस्था देखेर छक्क लाग्थ्यो । कसरी महिलाहरु यस्तो जिवन जिउन सक्छन् होला भन्ने सोच्थें । नेपालमा त महिलाहरुको अवस्था यस्तो छैन भनेर गर्व पनि गर्थें । तर अहिले नेताहरुले “ल्याउन लागेको” नीति पढ्दा लाग्छ, तालिवानले सिकाएछन् नेतालाई ‘महिलाहरुलाई छुट नदेउ ।’
म अफगानिस्थानमा रहँदा त्यहाँको अनुभवले मलाई सिकाएको थियो कसरी धार्मिक रुपमा अन्धा व्यक्तिहरुले राजनीतिलाई प्रयोग गरेर मानिसहरुको जीवनमा कष्ट पार्छन् । अफगानिस्तानमा धार्मिक गुरुहरुले आफूले व्यभिचार गर्ने, किशोरी र महिलाहरुलाई बलात्कार गर्थे र आफ्नो काम सुचारु रुपले चलिरहोस् भने जनतालाई र विशेष गरी महिलाहरुलाई शिक्षा र कामबाट वर्जित गरेका थिए ।
नेपालमा नेताहरु पनि त्यसै गरी बदमासी गर्छन्, गुुण्डा पाल्छन् तर देह व्यापारको लागि विदेशमा महिला र बालिका लगेर बेच्नेलाई आफ्नो सल्लाहकार बनाउँछन् । महिलालाई चाहिं बन्धनमा राख्न खोज्छन्, एक्लै नजाउ भनेर । तालिवानले त्यहाँका महिलालाई दिएको पिडा सम्झेर अहिले पनि मलाई कहाली लाग्छ । तर अब त आफ्नै देशका महिलाहरुको अवस्था देखेर कहाली लाग्ने बेला आयो ।
अफगानिस्तानमा चालिस वर्षीया ताहिरा शिक्षित महिला थिइन् । उनका ६ जना छोराछोरी थिए । ताहिराले भनेकि थिइन्–‘मलाई पढ्न धेरै रहर थियो । तर तालीवान केटीहरुलाई विद्यालय जान नदिने नियम बनाए । मेरो दिदीको १२ वर्ष नपुग्दै बिहे भएको थियो । मैंले त्यती चाँडो विवाह गर्न मानिंन । अनि मलाई १४ वर्षमा एक युवकसँग विवाह गरिदिनुभयो । केही त पढ्न पाएँ ।
छोराछोरीका सम्बन्धमा ताहिरासँग जिज्ञासा राख्दा उनले हाँसेर भनिन्–“अफगानी संस्कृतिमा धेरै छोराछोरी हुनु शुभसूचक मानिन्छ, पाँच छोराछोरी भएपछि हामी सन्तान पुगेको थियो । तर तालिवानहरुको समयमा मलाई काम गर्न, घरबाट बाहिर निस्कन र बोल्न दिएनन् । त्यसैले मेरो अरु ‘केही काम भएन, सन्तान पाएर मात्र समय बिताएँ ।’नेपाली महिलाहरु पनि त्यसैगरी समय बिताउने बेला आयो ।
तालिवानको शासनमा महिलाहरुलाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ” ताहिराले भनिन् । नेपालमा पनि के त्यही हुुनेवाला छ कि ? अफगानी बसमा मलाई एक जना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाए-“एक पटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैंंले भने कि उनको बच्चा बिरामी छ र म कहाँ जचाँउन ल्याएकी हुन् तर उनीहरुले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैंले ती महिलालाई बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैंले मेरो डक्टरी पेरा र अफगानिस्तान नै छोडें’ ती साथी अहिले पाकिस्तानमा छन् ।”
ती डक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरु संगाले । नेपालमा कुन दिन महिलाहरु एक्लै डाक्टरकहाँ जाँदा पुरुषले बलत्कार हुने भएकोले, महिलाहरु पुरुषसँगै मात्र जानु भन्ने निती आउँला, “बरु घरमा नै बस बाहिर नजाउ है महिला ?
अफगानिस्तानमा महिला डक्टरहरुको पीडा पनि उस्तै थियो र तिनीहरुलाई कडा नियमको पालना गर्नुपथ्र्यो । एक जना महिलाले भनेकी थिइन-“एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धार्मिक पुलिसले लखेट्यो । तिनीहरुले मलाई रोके र सोधे तिमी किन एक्लै हिँड्दै छौं ? मैंले म डक्टर हुँ र अस्पतालतर्फ जाँदैछु भनेँ । तिनीहरुले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिने । तर ती तालिवानहरुले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाहरुले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैँ बस्न बाध्य गराएको थियो ।” त्यस्तो अवस्थामा मैले कसरी काम गरें हुँला भन त ।”
नेपालमा पनि अब ४० वर्ष मुुनिका आमा र छोरी विदेश जानु परे श्रीमान र ‘वडा’ सदस्यलाई घुस दिएर मात्र जान पाइने भो । आफ्नो दायित्व पूूरा गर्न नचाहने सरकार र नेताले ‘तालिवान’ को जस्तै नियम लागू गरेर ‘महिलाको खुुट्टा’ मा जंजीर बाध्न खोजेका छन् । त्यो मान्ने ? कुन दिन महिलाहरु विवाह पूर्व कुमारी छन् कि छैनन् भनेर सरकारले नीति बनाइदेला कि ?(डा.उप्रेतीको फेसबुकबाट साभार)