arrow

‘यो कम्युनिस्टहरूको लेनदेन, पैसा र सत्ताको लडाइँ हो’

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
mohan-basnet.JPG

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिस्टहरुले सत्ता र पैसाको लागि लडाइँ गरिरहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले भने ‘यो कम्युनिस्टहरूको लेनदेन, पैसा र सत्ताको लडाइँ हो ।’

बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरे । काँग्रेस चुनावको पक्षमा रहेको प्रस्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।‘प्रधानमन्त्रीज्यू तपाईँले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’ बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।’ उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । काँग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे ।

अदालतलाई थ्रेट दिने कार्य कहीँ कतैबाट हुन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरूले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे । उनले भने,‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरूले अदालतलाई थ्रेट दिन मिल्छ रु’ काँग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको बताए । अदालतको फैसलालाई धैर्यताका साथ कुर्न आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए ।

प्रतिनिधि सभा पुनर्बहाली भए पनि काँग्रेस मान्न तयार रहेको बताए ।  देशमा ठुलो सङ्कट आउन सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको भूमिकामाथि समेत बस्नेतले प्रश्न गरे ।

सरकारले चरित्रकै कारण अराजकता र अस्थिरता बढेको आरोप लगाए । उनले भने,‘आज ओलीको ठाउँमा प्रचण्ड र माधव नेपाल भएको भए पनि झाँक्री पक्राऊ पर्ने थिइन् ।’ सरकारले हत्या, हिंसा र बलात्कार जस्ता जघन्य घटना रोक्न नसकेको टिप्पणी गरे ।



नयाँ