arrow

रमेश लेखकबाट भागिरथी हत्याको घटनास्थलको अवलोकन, आमालाई सहयोग

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
bhagirathi-ramesh-lekhak-fa.jpg

बैतडी । नेपाली कांग्रेसले बैतडीकी भागिरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आइतबार घटनाको बारेमा स्थलगत अवलोकन गरेका छन् । उनले भागिरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन् । 

पूर्वमन्त्री रमेश लेखकले भागिरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए । 

सो अवसरमा कांग्रेसले मृतककी आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् । 

नेता लेखकले भागिरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए । 

डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी पत्ता लाग्ने बताए ।  

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागिरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

भागिरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् । हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ । भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ