arrow

`हिजो निर्मला आज भागिरथी भोलि को ?' भन्दै अधिकारकर्मीले पठाए प्रमलाई ज्ञापन पत्र

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ फागुन ३ सोमबार
mahila-jhapa.JPG

झापा । देशका विभिन्न स्थानहरूमा बालिकाहरूको हत्या गरिएको प्रकरणको विरोध गर्दै झापा जिल्लाको दमकमा महिला अधिकारकर्मीहरूले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

दमकमा क्रियाशील रहेका विभिन्न १२ वटा महिला अधिकारवादी सस्थाहरूले आइतबार प्रशासन कार्यालय मार्फत ज्ञापन -पत्र बुझाएका हुन । कञ्चनपुरकी निर्मला पन्त ,बझाङकी सम्झना बिक तथा बैतडीकी भागिरथी भट्ट लगायतका बालिकाहरूको बलात्कार पछि गरिएको हत्या र हत्यामा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

विभिन्न स्थानहरूमा बालबालिका तथा महिलाहरूलाई यौन जन्य दुर्व्यवहारको विरोध गर्दै महिला सशक्तीकरण केन्द्र नेपाल , रास्टिय महिला अधिकार मञ्च नेपाल , उद्यमशील महिला जागरण केन्द्र नेपाल सहितका संस्थाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताएका छन् ।

त्यस्तै महिला तथा बालबालिकाको हितमा आवाज उठाउँदै आएको संस्था मेची महाकाली बुहारी संयुक्त आवाज दमक उप- शाखाले पनि हिजो आइतबार झापाको दमकमा विरोध जुलुस निकालेको थियो ।बैतडीमा माघ २१ गते बलात्कारपछि हत्या गरिएकी १७ वर्षीय भागरथी भट्टको बलात्कारी र हत्यारा पत्ता नलागेको विरोधमा जुलुस निकालिएको उनीहरूले बताएका छन् ।

`भगिरथीलाई न्याय दे´, `नारी समान हैन सम्मान हो´, `बलात्कारी खुलेआम बलात्कृत गुमनाम´, `अपराधीलाई फाँसी दे भगिरथीलाई न्याय दे´ जस्ता नारा लेखिएका प्ले-कार्डहरू बोकेर सयौँको सङ्ख्यामा उपस्थित महिलाहरूले चर्को नारा लगाउँदै दमक बजार परिक्रमा गरेका थिए ।

`यो देशमा महिला तथा बालबालिका माथि हुने अन्याय, अत्याचार र बलात्कार कहिलेसम्म भनेर प्रश्न गर्दै  जबसम्म महिलाहरूमाथि हुने हरेक किसिमका अन्याय र अत्याचारको अन्त्य हुँदैन तबसम्म हामी चुप लागेर बस्ने छैनौँ भन्दै अझ कठोर सङ्घर्षका कार्यक्रमहरू आफ्नो संस्थाले गर्ने जानकारी गराएका थिए ।

`हिजो निर्मला पन्त आज भागरथी भट्ट भोलि को ? यो शृङ्खला कहिलेसम्म ? हामी सम्पूर्ण नेपालीको जिम्मा राज्यले लिनुपर्ने हैन ? जबसम्म राज्यले यी सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउँदैन तबसम्म हाम्रो सङ्घर्ष जारी रहन्छ ।´ संस्थाकी झापा जिल्ला सचिव कविता थापाले विभिन्न सञ्चार कर्मी र पत्रकार माझ जानकारी गराएकी थिइन  ।

कार्यक्रम संयोजक जमुना निरौलाको संयोजकत्वमा भएको विरोध कार्यक्रममा जिल्ला अध्यक्ष शिखा खड्का , जिल्ला सचिव कविता थापा , उपाध्यक्ष गङ्गा भट्टराई लगायत कार्यक्रममा झापा जिल्ला तथा दमक उप- समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

छोटो समयमा महिला तथा बालबालिकाको पक्षमा दरिलो आवाज उठाउँदै लोकप्रियता हासिल गरेको यस संस्थाले देशका ४५ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।हाल अमेरिका रहेर पनि आफ्नो देशको महिला तथा बालबालिकाको क्षेत्रमा योगदान दिनुपर्छ भन्ने सोचका साथ यस संस्थाको नेतृत्व गर्दै केन्द्रीय अध्यक्षको जिम्मेवारी यमु शर्मा सुब्बाले सम्हालेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ