arrow

निरङ्कुशता लाद्न खोजिए काँग्रेसका नेता कार्यकर्ता टाउकोमा कात्रो बाँधेर लड्न तयार छन् : नेता थानी

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
nepalgunj-congress.jpg

सौरभ गिरी, नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेस सडकमा आएको बताएका छन् । नेपाली काँग्रेस बाँकेले सोमबार नेपालगन्जमा गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थानीले कम्युनिस्टको घर झगडाका कारण प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताए ।

पूर्व मन्त्री समेत रहेका थानीले संविधान र लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा अग्रसर भएको टिप्पणी गरे । निरङ्कुशता लाद्न खोजिए काँग्रेसका नेता कार्यकर्ता टाउकोमा कात्रो बाँधेर लड्न तयार रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले दोहोरो कुरा गरिरहेको बताए । "एकातिर आफ्नै पार्टीका मान्छेले काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको हुँ भन्ने अनि अर्कोतिर यो सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको छ भनेर गफ दिने ?" थानीले प्रश्न गरे ।

वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै उनले अब कम्युनिस्टहरू जनताबाट नाङ्गिने दाबी गरे । पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको विरोध सभामा पूर्व पार्टी सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, सचिव कपिलदेव शर्माले बोलेका थिए ।

पार्टी कार्यालयबाट निस्केको जुलुस बिपी चोक हुँदै गणेशमान चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभाको सञ्चालन सहसचिव रामकुमार राढले गरेका थिए । प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ