arrow

'श्रीमान् संविधान हेरेर फैसला गर्नुहोला, सडकबाट संसद् पुनर्स्थापना गर्न नपरोस्'

राष्ट्रपतिलाई सिङ्गो नेपालीको अभिभावक बन्न आग्रह

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन ३ सोमबार
dhanraj-gurung.jpg

कावासोती । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले संविधान हेरेर फैसला गर्न सर्वोच्चका न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

नेपालको संविधानले प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्थाको परिकल्पना समेत नगरेको अवस्थामा प्रधानमन्त्रीले गरेको संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै संविधान हेरेर फैसला गर्न धनराज गुरुङले न्यायाधीशहरुलाई आग्रह गरेका हुन् ।

सोमबार पूर्वी नवलपरासीमा नेपाली काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै गुरुङले भने 'श्रीमान् संविधान हेरेर फैसला गर्नुहोला,संविधानमा संसद् विघटनको व्यवस्था छैन ।'

सर्वोच्च अदालतले संविधान विपरीत गएर फैसला गरेर संसद् पुनर्स्थापना नगरे आफूहरूले जनताको बलले सडकबाट संसद् पुनर्स्थापना गर्ने बताउँदै गुरुङले न्यायाधीशलाई केपी ओलीको अनुहार होइन संविधान हेरेर फैसला गर्न आग्रह गरेका हुन ।

हिजो २०५९ को संसद् विघटनलाई सर्वोच्चले सदर गर्दा जनताकै बलले संसद् पुनर्स्थापना भएको र त्यही सांसदले गणतन्त्रको बाटो तय गरेको बताउँदै नेता गुरुङले अहिलेको समस्याको एक मात्र समाधान संसद् पुनर्स्थापना भएको जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीको मात्रै नभई सिङ्गो नेपाली जनताको अभिभावक बन्न आग्रह गरेका छन् ।

राष्ट्रपति देशकै अभिभावक बन्ने मुलुकलाई सही दिशा देखाउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउँदै गुरुङले राजतन्त्र फालेर जनताकै छोरीलाई राष्ट्रपति बनाउँदा पनि राष्ट्रपतिले मुलुक र जनताको हित चिताउन नसकेको नेता गुरुङको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ