arrow

कांग्रेस केन्द्रीय समितिको म्याद गुज्रदै

संविधान अनुसार फेरी ६ महिना थप्ने तयारी

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
nepali-congress-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद फेरी ६ महिना थप गर्ने तयारी गरेको छ । कांग्रेसले कारोना संक्रमणको कारण देखाउदै भदौ २०७८ सम्मका लागि वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी गरेको हो ।

कांग्रेसले पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमितिको म्याद यसअघि एक वर्ष थप गरेको थियो । सो समय यही फागुन २३ बाट सकिंदैछ । पार्टीको विधानले दिएको सुविधा अनुसार थप गरिएको समय सकिनै लाग्दै कांग्रेसले संविधान अनुसार फेरी ६ महिना केन्द्रीय समितिको म्याद थप गर्न लागेको हो ।

कांग्रेसको १३औं महाधिवेशन २०-२३ फागुन २०७२ मा काठमाडौंमा सम्पन्न भएको थियो । त्यसयता कांग्रेस महाधिवेशन हुन सकेको छैन । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ ।

अब म्याद थप गर्दा भने कांग्रेसले पार्टीको विधान अनुसार नभइ देशको संविधान अनुसार ६ महिना थप गर्न पाउने छ । नेपालको संविधानको धारा २६९ मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ ।

तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भन्ने उल्लेख छ ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले आगामी केन्द्रिय समिति बैठकले संविधानले दिएको सुविधा प्रयोग गर्दै पार्टीको केन्द्रीय समितिको म्याद थप गर्ने बताए । कांग्रेस बैठक बुधबार बस्ने तय भइसकेको छ ।

केन्द्रीय समितिले बाध्यात्मक अवस्थाका कारण संविधानले दिएको सुविधा प्रयोग गरिे आफ्नो कार्यकाल अन्तिम पटक थप गर्छ, थप गरिएको समय भित्र महाधिवेशन सक्छौं,’ कांग्रेस सहमहामन्त्री महतले हाम्राकुरासँग भने । 

महाधिवेशनको नयाँ मिति पनि तोकिंदै

कांग्रेसले आगामी केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको नयाँ मितिसमेत तोक्दैछ । यसअघि ७ देखि १० फागुनसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी कांग्रेसले गत २२ असारमा निणर्य गरेको भए पनि विश्वव्यापी कोरोना संक्रमणका कारण महाधिवेशन कार्यतालिका शुरुदेखि नै प्रभावित बनेको थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समितिको सकिनै लागेको समय, महाधिवेशनको नयाँ मिति र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुने जानकारी दिए । 

‘बैठकमा केन्द्रीय समितिको सकिनै लागेको समय, महाधिवेशनको नयाँ मिति र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुन्छ,’ उपसभापति निधिले भने । 

कांग्रेसले आगामी जेठ अन्तिम वा भदौ पहिलो सातासम्म महाधिवेशनको मिति तोक्ने तयारी गरेको हो । सभापति शेरबहादुर देउवामाथि महाधिवेशनको तोकिएको मिति प्रभावित भएसँगै नयाँ मिति तोक्न पार्टी भित्र तिव्र दबाब छ । 

देउवाले प्रतिनिधिसभा पुर्नस्थापना भयो भने आगामी जेठ भित्रमा नै महाधिवेशन गर्न चाहेका छन् । तर निर्वाचनमा जानु पर्ने अवस्था आयो भने भदौमा मात्रै महाधिवेशन गर्न सकिने भन्दै आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् । 

यसरी हेर्दा आगामी बैठकबाट कांग्रेसले पहिले पार्टीको सकिनै लागेको म्याद थप गर्ने र त्यसपछिको बैठकबाट मात्रै कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न सक्ने देखिन्छ । यसअघि कांग्रेसको १३औं महाधिवेशन २०–२३ फागुन २०७२ मा काठमाडौंमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ