arrow

कांग्रेस केन्द्रीय समिति बैठक: आन्दोलनको समीक्षा र भावी कार्यक्रममा छलफल हुने

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
nc-party-office.png

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज (बुधवार) बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
 
बैठकमा महाधिवेशनको नयाँ कार्य तालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालयले जनाएको छ ।
 
कांग्रेसले गत असार २२ गते पार्टीको १४औँ महाधिवेशन आगामी यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्य तालिका निर्धारण गरेको तर कोभिड–१९ को सङ्क्रमणका कारण कार्य तालिका प्रभावित भए पनि कांग्रेसले हालसम्म महाधिवेशनको नयाँ मिति तोकेको छैन ।
 
पार्टी स्रोतका अनुसार कांग्रेसले महाधिवेशनको नयाँ मिति तोक्न सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला पर्खने भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्ममा र पुनर्स्थापना भएन र निर्वाचनमा जानुपर्‍यो भने भदौ पहिलो साता हुन सक्ने अनुमान गरिएको छ ।
 
यसै गरी बैठकले केन्द्रीय कार्यसमितिको समयावधि थप गर्दा पार्टीको विधानअनुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने उल्लेख छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । तसर्थ कांग्रेसको विधानअनुसार वर्तमान केन्द्रीय समितिको समयावधि यही फागुन १९ गतेसम्म मात्र छ ।
 
कांग्रेसले कोभिड–१९ को विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने जनाइएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ