arrow

कांग्रेस केन्द्रीय समितिलाई शुभचिन्तकहरूको एक ढिक्का रहन अपिल

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
congress-flag.jpg

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु अगावै कांग्रेस शुभचिन्तकहरूको समूहले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न र केन्द्रीय समिति बैठकको निर्णयहरू सबै नेता कार्यकर्ताहरूले पालना गर्नका लागि अपिल गरेको छ। 

कांग्रेसका नेताहरूले सार्वजनिकरुपमा दिएका अभिव्यक्तिहरू विरोधाभासपूर्ण रहेको भन्दै आगामि दिनहरूमा त्यस्तो हुन नदिन पनि केन्द्रीय समितिले बिचार गर्नु पर्ने अपिलमा उल्लेख गरेको छ। 

अपिलमा भनिएको छ 'पार्टीले आयोजना गरेका विरोध सभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन्। आउँदा दिनहरूमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ ।'

कांग्रेसलाई एक ढिक्का बनाएर लैजानेतर्फ केन्द्रीय समितिले विशेष पहल गर्नु पर्ने भन्दै अपिलमा भनिएको छ ' पार्टीले आयोजना गरेका विरोधसभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन्। आउँदा दिनहरुमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ ।'

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज (बुधवार) बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
 
बैठकमा महाधिवेशनको नयाँ कार्य तालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

अपिलको पूर्ण पाठ :

 

श्री नेपाली कांग्रेस,
केन्द्रीय कार्यसमिति 

नेपाली काग्रेस लोकतन्त्रलाई संस्थागत गर्दै कानुनी सर्वोच्चतालाई प्रमुख प्राथमिकतामा राखेर लोकतन्त्रमा विश्वास गर्ने पार्टि हो । यो धारणामा कुनै दुबिधा हुनु जरुरी छैन। नेपाली कांग्रेसले इतिहासका प्रत्येक कालखण्डमा हरेक राजनीतिक अप्ठ्यारो परिस्थितिमा देशलाई सही मार्ग निर्देश गर्दै आएको कुरा सबैमा जग जाहेर नै छ। 
 

अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवं प्रतिगमन उन्मुख कदम विरुद्ध  कांग्रेस सडक आन्दोलनमा छ। पार्टीको केन्द्रीय समितिको सर्वसम्मत निर्णय अनुसार विभिन्न चरणको आन्दोलन गर्दै आएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट निहाल्दा अहिले नेकपा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिन्छ। तसर्थ अरू पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तर पार्टी गठबन्धन गर्न आवश्यक छैन। त्यसैले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ। तर विगतमा पार्टीले आयोजना गरेका विरोधसभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा छैनन्। अवका दिनमा कांग्रेस नेताहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ । कम्युनिष्टहरुले देश चलाउन नसकेर संसद् विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउने गरी केन्द्रीय समितिले आचारसंहिता लागु गर्न पनि आवश्यक देखिन्छ । व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउने गरी पार्टीका सबै नेताहरूलाई एउटै मालामा गाँस्नु अहिलेको आवश्यकता हो । 

कांग्रेसको १४औं महाधिवेशनको नजिक छ। जसरी पनि अब कांग्रेसले महाअधिवेशनको नयाँ मिति टुङ्गो  लगाएर महाधिवेशनमा होमिनु पर्ने छ। लोकतान्त्रिक पार्टी भित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्ने प्रक्रिया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास  खस्किँदै जान्छ। त्यसैले आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यो कुरा मध्यनजर गर्दै ठोस निर्णय गर्नै पर्छ।पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका कामहरू एवं विवादित जिल्लाहरूलाई कडा निर्देशन दिएर सबै कुराहरू समयमै टुङ्ग्याउनु आवश्यक छ। पार्टीको विधान संविधानले दिएको अधिकार अनुसार पार्टीको महाधिवेशनतर्फ पनि अब कामहरू अघि बढ्नु पर्छ।  

वर्तमान अवस्थामा कांग्रेस संसद् पुनर्स्थापनामा जाने या चुनावमा जाने कुरामा पार्टीभित्र छलफल भएता पनि सबै नेताहरूको फरक मत र  दृष्टिकोण बाहिर आएका छन्।आज  बस्ने कार्यसमितिको बैठकले सबैसँग बृहत् छलफल गरेर ठोस निर्णय सार्वजनिक गर्नु पर्दछ। पार्टीका नेतापिच्छेका फरक धारणा र दृष्टिकोणले आम जनतालाई मात्र हैन कांग्रेसकै कार्यकर्ता तथा शुभचिन्तकलाई समेत भ्रममा पारेको छ।भ्रममा पार्न मात्र हैन यसले कार्यकर्ता र नेताको ध्रुवीकरण पनि तीव्र गतिमा गर्दै गएको छ । यसले सिङ्गो पार्टीलाई हित गर्दैन भन्ने पूर्ण ठम्याई हो। राजनीतिक मुद्दामा कांग्रेस पार्टीको एउटै एजेन्डा हुन जरुरी छ । आज बस्ने कार्यसमितिको बैठकमा यो बिषयमा गहन छलफल एवं समिक्षा होस् भन्ने आम कार्यकर्ताको चाहना छ। 
 
अन्त्यमा, ‘लोकतन्त्रको लागि कांग्रेस र कांग्रेसको लागि लोकतन्त्र’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै नेताहरूले एकल सिद्धान्तभन्दा पनि सामूहिक सिद्धान्त बनाएर पार्टीले वर्तमान राजनीतिक संक्रमणकालको अन्त्य गर्नु पर्दछ। तसर्थ आजको केन्द्रीय कार्यसमिति बैठकले मुलुकको नेतृत्वदायी भूमिका निभाउने गरी पार्टीभित्र एकताको सन्देश दिंदै मुलुकलाई सही दिशामा ल्याउने अठोट गर्न हामी विषेश आग्रह गर्न चाहन्छौ। 

जय नेपाल ।

बिश्वदिप लामिछाने 
शिव चालिसे
एलिजा ढकाल
ज्योती बोगटी थापा
तुल्सीराम भुसाल
सरोजश्री अधिकारी
हेमन्त बन
बुद्धराज रिसाल
तारा गौतम
राजन कटुवाल(केसि)
देवेन्द्र बर्मा 
राविश शर्मा
सुबास अर्याल 
छिरिङ धुन्डुप शेर्पा
राजेस लुइटेल
सिब श्रेष्ठ
गोबिन्द बानियाँ
बिश्वास द्विबेदी 
आत्मराम अतकुल्य
सुरेस अधिकारी
अंसु शर्मा
सरोज बस्नेत 
बिपि कोइराला
लक्ष्मण सापकोटा
प्रकाश भण्डारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ