arrow

भारत सरकारको सहयोगमा कागेश्वरीको कान्ति भैरव माविको निर्माण सुरु

२६ करोड ६० लाखमा कान्ति भैरव बन्दै, ५१ करोड ८० लाखमा ६ वटा विद्यालय निर्माणको सम्झौता

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
shree-kanti-school-.jpg

काठमाडौँ। कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले संयुक्त रूपमा विद्यालयको भूमि पूजन एवं शिलान्यास भएको हो।

शिलान्यास तथा भूमि पूजन कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख नामग्य सी. खम्पाले भारत र नेपालबिचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताइन्। नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरूसँग हातेमालो गर्दै दुई देशबिचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्ध रहेको नियोग उप–प्रमुखले जानकारी गराइन्। 

समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

भारत सरकारको २६ करोड ६० लाखको लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप निर्माण हुने बताइएको छ। नयाँ बन्ने तीन तल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाइ संरचना तथा फर्निचरको व्यवस्था हुने प्राधिकरणले जनाएको छ। यी विद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।

सोही अवसरमा  ५१ करोड ८० लाखको लागतमा ६ वटा माध्यमिक विद्यालयको निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बिच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ। ६ वटा विद्यालय मध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चार वटा विद्यालयहरू काठमाडौँ जिल्लामा पर्दछन् भने बाँकी दुई वटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्धि माध्यमिक विद्यालय काभ्रे जिल्लामा पर्दछन्।

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर अर्थात् २५ अर्ब भन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर अर्थात् ५अर्ब भन्दा बढीको प्रतिबद्धता जनाएको छ। यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका ७१ वटा शैक्षिक संस्थाहरूको पुनर्निर्माण भइरहेको छ। गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरू निर्माणाधीन अवस्थामा छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ