- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सोल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ ।
दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो ।
यहाँको कानुन मन्त्रालयका अनुसार कुनै पनि बच्चा बाल अधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरूप सो नियम ल्याउन लागिएको हो ।
यहाँका कानूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानवअधिकारको रक्षा गर्न यो कानूनले सहयोग गर्ने बताएका छन् ।
यो कानुन लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उनले बताएका छन् । त्यस्ता बच्चाले बिमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् ।
यदि कुनै विदेशी श्रमिक कोरियामा अवैधानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वैधानिकता प्राप्त गर्नेछन् ।
हालसम्म कोरियामा अवैधानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानुनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो ।
कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।