arrow

प्रधानमन्त्रीलाई साँच्चै छ सुरक्षा थ्रेट ?

सुरक्षा निकाय भन्छन् - छैन

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
pm-oli-security.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगे । त्यहाँ उनले आफूमाथि भौतिक आक्रमणको योजना भइरहेको खुलासा गरे ।  प्रधानमन्त्रीको यो खुलासा हुँदै गर्दा देशको शान्ति सुरक्षाको स्थिति हेर्ने जिम्मेवारी बोकेका गृहमन्त्री रामबहादुर थापा पनि सँगै थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिपछि देशको कार्यकारी प्रमुखमाथि भरपर्दो सुरक्षा व्यवस्था नभएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

‘अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला, तर त्यस्तो हुँदैन, म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ,’ प्रधानमन्त्रीले धारणा राख्ने क्रममा भनेका थिए ।  प्रधानमन्त्रीको सो अभिव्यक्तिपछि सुरक्षा निकायहरूसमेत दबाबमा परेका छन् ।

‘प्रधानमन्त्री ज्यूले किन त्यसो भन्नु भयो थाहा छैन, प्रधानमन्त्रीले भनेका कुरालाई काउन्टर गर्दा राम्रो नहोला, तर उहाँलाई भरपर्दो सुरक्षा प्रबन्ध गरिएको छ, अवस्था त्यस्तो होइन,’ सुरक्षा अङ्गका एक उच्च अधिकारीले भने ।

हाल प्रधानमन्त्रीले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ अनुसार सुरक्षा प्रदान गर्दै आइरहेको छ । उच्च स्रोतका अनुसार उनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी ९० जना भन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।

यतिसम्मकी देशको सुरक्षा व्यवस्थामाथि तलमाथि हुने अवस्था आयो भने त्यसको अनुमान गर्ने र अवस्था अनुसारको निर्णय गर्ने संविधान प्रदत्त जिम्मेवारी पाएको राष्ट्रिय सुरक्षा परिषद्को समेत प्रधानमन्त्री आफैं अध्यक्ष हुन् । सो परिषद्ले सुरक्षा अङ्गका संयन्त्रमार्फत देशको सुरक्षाका अवस्थामा विभिन्न माध्यमबाट सुरक्षा चुनौतीको विश्लेषण गर्ने र आवश्यक व्यवस्था मिलाउन निर्णय दिने कामसमेत गर्छ ।

आफ्नो सम्बोधनका क्रममा भौतिक आक्रमणको खुलासा गरेका प्रधानमन्त्रीले आफूलाई कहाँबाट आक्रमणको सम्भावना छ भन्ने बारे भने खुलाएका छैनन् ।  ‘प्रधानमन्त्रीलाई सुरक्षा चुनौती छ भन्ने हो भने कहाँबाट छ भन्ने पनि आउनु पर्ने, त्यो प्रधानमन्त्रीले खुलाउनु भएन, यस कारण त्यति धेरै चिन्ता लिनु पर्ने जस्तो लाग्दैन, राजनीतिक रूपबाट उहाँको अभिव्यक्ति आएको हुन सक्छ ।’ सुरक्षा अङ्गतर्फ उच्च स्रोतले भन्यो ।

मुलुकका चारवटै सुरक्षा अङ्गहरूले भने मुलुकमा अहिले शान्तिपूर्ण अवस्था रहेको र त्यस्तो सुरक्षा चुनौती नै देखिने अवस्था नरहेको भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ