- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी आइतबार फागुन २३ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते १३ दिनभित्र बैठक डाक्न आदेशसहित गरेको फैसलापछि आइतबार बैठक बस्दैछ ।
उक्त बैठक कसरी संचालन हुन्छ भन्ने अन्योल छ । सत्तारुढ नेकपाका दुई समूहमा विभाजित भएपछि ‘सिट एरेन्जमेन्ट’ मा समेत समस्या पर्ने देखिएको छ । प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली समूहसँग विभाजित भएको प्रचण्ड–नेपाल समूहका सांसदहरु सँगसँगै बस्छन् कि बस्दैनन् भन्ने चाँसोसमेत रहेको छ ।
पार्टी आधिकारिक रुपमा विभाजित भइनसकेको अवस्थामा (निर्वाचन आयोगले अहिलेसम्म विभाजन नगरेको र पुरानै पार्टीलाई यथावत राखेको सन्दर्भमा) सिट व्यवस्थापन गर्न पनि समस्या नै रहेको छ ।
त्यतिमात्रै होइन ओलीले नेपाल संसदीय दलको मुख्य सचेतकबाट प्रचण्ड–नेपाल समूहका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मा दिएपछि थप विवाद बनेको छ । अहिलेसम्म गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरिएको आधिकारिकतासमेत संसद सचिवालयमा दिइएको छैन ।
यही अन्योल चिरेर प्रधानमन्त्री ओलीलाई संसदमा काउन्टर दिन रणनीति बनाउन सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास लैनचौरमा नेकपाको प्रचण्ड–नेपाल समूहको छलफल भएको छ ।
उक्त छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै जनार्दन शर्मा लगायतका नेताहरुसमेत उपस्थित भएका छन् ।
उक्त गोप्य छलफलले ओलीलाई संसदमा कसरी अविश्वासको प्रस्ताव ल्याएर हटाउन सकिन्छ भन्नेसम्मको योजना बनाउँदै गरेको बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन चुनौती दिँदै आएपछि प्रचण्ड–नेपाल समूह ‘डिफेन्सिभ’ देखिएको छ । ओलीले आफूले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा धेरैको थियो ।
त्यसविपरीत ओली संसदमा सामना गर्ने भन्दै तम्सिएपछि संसदमा हुन भनिएको सङ्ककमोचनमा समेत उल्झन हुन सक्ने देखिएको छ ।