arrow

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवाको भनाइपछि नयाँ तरङ्ग

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । बिहीबार नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्दैछ । शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्नुअघि बिहीबार दिउँसो पदाधिकारी बैठक बस्न लागेको हो । 

बैठक पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्नेछ । बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् । 

कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि निर्णय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । 

सभापति देउवाले बुधबार चितवनमा भएको कार्यक्रममा सरकारको नेतृत्व गर्ने जिम्मा आए कांग्रेस पछि नहट्ने भनी अभिव्यक्ति दिएपछि कांग्रेसभित्र तरंग छाएको छ । 

उनले सोही कार्यक्रममै सानो चित्त नगराउन वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । उनले कांग्रेसको नेतृत्वमा सरकार बने कांग्रेसलाई फाइदै हुनेसमेत बताएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि पौडेल पक्ष आन्दोलनमै रहनुपर्छ भन्नेमा थियो भने देउवा पक्ष अदालतको फैसला कुरिरहेको थियो । 

अदालतले संसद ब्युँताएपछि अब नेकपा फुटेका खण्डमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले नै देउवालाई नेतृत्व सम्हाल्न आग्रह गरिरहेका छन् । 

तर नेकपा नै नफुटेको अवस्थामा कांग्रेसले कुनै निर्णय गरेको छैन । कांग्रेसलाई प्रतिपक्षीको म्यान्डेट जनताले दिएकाले सरकारमा जानु हुन्न भन्ने पौडेल पक्षको अडान छ । 

सर्वोच्च अदालतले नेकपाको नामको विवादमा फैसला गरेपछि पनि संसदमा प्रस्तुत हुने एजेन्डा तय गर्न कांग्रेसलाई सजिलो हुने थियो । 

बिहीबारको बैठकले २३ गते आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको हिसाबले प्रस्तुत हुनका लागि शुक्रबार बस्ने संसदीय दललाई सुझाव दिनेछ ।  



नयाँ