arrow

बेथिति

बालुवा उद्योगमा अवैध गिट्टी कुटाइ, राज्यको करोडौं राजस्व चुहावट

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
gitti1.jpg

बर्दिया । जिल्लामा दुई वटा बालुवा प्रशोधन उद्योगले अवैध रुपमा गिट्टी कुटेर अवैध रुपमै विक्री वितरण गरी राज्यको करोडौं रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ । 

बर्दिया बालुवा प्रशोधन उद्योग प्रालि र लक्ष्मी बालुवा प्रशोधन उद्योग प्रालिले अवैध रुपमा गिट्टी कुटेर विक्री वितरण गरेको पाइएको हो । 

बर्दिया बालुवा प्रशोधन ठाकुरबाबा नगरपालिका भुरिगाउँ बग्नाहामा रहेको छ भने लक्ष्मी बालुवा प्रशोधन बारबर्दिया नगरपालिका १ कुम्रागाउँमा रहेको छ । 

कानूनअनुसार बालुवा उद्योगमा गिट्टी कुट्न पाइँदैन । त्यसो गर्दा ५० करोड रुपैयाँसम्म जरिवाना हुन्छ । तर योजनाका नाममा यसरी दोहन गर्ने काम भइरहेको दाबी गरिएको छ । 

पीडितहरुले पटक पटक प्रशासनमा यसबारे जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । एक पीडितले भने, ‘प्रशासनलाई पनि गुनासो गर्यौं तर सुनुवाइ भएन । यसमा सीडीओ नै मिलेको आशंका हामीलाई छ । सीडीओ बिना उनीहरु एक्लैले यो आँट गर्न सक्दैनन् ।’

योजनाको नाममा गिट्टी उत्पादन गरेको भए योजनामै जानु पर्नेमा उनीहरुको माग छ । पीडित भन्छन्, ‘प्रोजेक्टका लागि बनाएको भए प्रोजेक्टमै जानुपर्यो गिट्टी । किन बाहिर बेचियो ?’

बर्दियामा सहरी विकासको योजनाका नाममा काम भइरहेको छ । एउटा योजना पहिले नै सकिइसकेको छ । अर्को एउटा बाँकी छ । तर त्यसका लागि उक्त गिट्टी प्रयोग नभएको दाबी पीडितको छ । 

यसरी एउटै बालुवा उद्योगबाट गिट्टी कुट्दा राज्यलाई वार्षिक कम्तीमा ६ करोड रुपैयाँको राजस्व चुहावट भएको दाबी पीडितको छ । 

पीडित अनुसार यस्ता अवैधानिक उद्योग बर्दियामा ३ वटा छन् । एउटा नेपालगञ्जमा रहको छ । 

त्यसैगरी खोलामा समेत दोहन गर्ने गरेको पाइएको छ । सय घनमिटरको ठेक्का खोलाबाट लिँदा पाँच सय घनमिटरसम्म दोहन गर्ने गरेको समेत पाइएको छ । 

यसरी अवैधानिक रुपले चलिरहेका उद्योगले सस्तोमा गिट्टी दिने गरेका छन् । जसका कारण वैधानिक रुपमा चलेका ३–४ वटा क्रसर उद्योग धरापमा परेका छन् । 
बर्दियाको बबई खोला वारि र पारी रहेका अवैधानिक उद्योगका कारण वैधानिक रुपले चलेका उद्योग घाटामा जान थालेपछि उनीहरुले पटक पटक प्रशासन गुहारे पनि सुनुवाइ भएको छैन । 

धम्कीसमेत सहनु परेको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ