arrow

काँग्रेस संसदीय दलको बैठक एक बजे संसद् भवनमा बस्दै

logo
रासस,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
nepali-congress-flag-tree.jpg

काठमाडौँ। नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्दै छ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रूपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले त्यस विरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो।

प्रतिनिधिसभाको पुनःस्थापनापछि भने काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ।

प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनः स्थापनाको फैसला सुनाएको थियो। सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः स्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन।



नयाँ