arrow

सुन्दरहरैँचामा उद्योग वाणिज्य सङ्घको चुनावी सरगर्मी

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
sundarharucha-election.JPG

मोरङ । मोरङको सुन्दरहैचाँमा उद्योग वाणिज्य सङ्घको चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरूको साझा संस्थाको रूपमा स्थापित रहेको उद्योग वाणिज्य सङ्घको ९औँ चुनावी साधारण सभा हुन लागेको हो ।

 २०७२ सालमा भएको चुनावी साधारण सभा पछि यो पटक हुन लागेको हो । २०७५ सालमा पूरानै समितीलाई एक वर्षे कार्यकाल थप गरिएको थियो । तर कोभिड १९ को महामारीको कारण थप एक वर्ष कार्यकाल लम्ब्याउनु परेको वर्तमान अध्यक्ष नवराज चापागाईँले बताउँछन् । नयाँ नेतृत्व चयनको लागि दुई समूह चुनावी मैदानमा खरो रूपमा उत्रिएका छन् । दुवै पक्षले आफ्नो समूहको विजयी सुनिश्चित रहेको दाबी गर्दै व्यवसायीहरूको घरदैलोमा जुटेका छन् । कृष्ण प्रसाद रिजाल र टिका प्रसाद कट्टेल नेतृत्वको दुवै समूहले आफ्नो समूहलाई व्यवसायीहरूको साझा समूह भनेर प्रचार गरिरहेका छन् ।

 फागुन २२ गते हुने उक्त उद्योग वाणिज्य सङ्घको निर्वाचनको चुनावी प्रचारप्रसार हेर्दा संसदीय निर्वाचनको झल्को देखिन्छ । प्रचारमा दुवै समूहले  आफ्नो समूह साझा भनिएता पनि दुवै समूहमा राजनितिक रङ्ग प्रस्ट देखिन्छ । कृष्ण प्रसाद रिजाल नेतृत्वको समूहलाई नेपाली काँग्रेसको प्रत्यक्ष सहयोग रहेको देखिन्छ भने अर्का प्रत्याशी टिका प्रसाद कट्टेल नेतृत्वको समूहलाई नेकपाको प्रत्यक्ष सहयोग रहेको देखिन्छ । तर कट्टेल भने आफू कुनै पनि राजनैतिक दलमा सहभागी नरहेको दाबी गर्दै आएका छन् ।

रिजाल २०५७ साल देखी उक्त उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने कट्टेल २०५४ साल देखी निरन्तर कार्यसमितिमा रहँदै वर्तमान समितिमा सचिवालय सदस्य हुन् । संस्थालाई स्थापना काल देखी हाल सम्म ल्याई पुर्‍याउन आफ्नो महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै साना तथा घरेलु उद्योग पहिचान गरी उद्योग पुनर्स्थापना स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्ने लगायतका २७ बुँदामा कट्टेल समूहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । त्यसै गरी रिजाल समूहले प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनुपर्नेमा षडयन्त्रपूर्वक अँध्यारो कोठामा चिट्ठाको प्रपञ्च गरी नेतृत्व हत्याउन खोजेको आरोप लगाउँदै उद्योगी, व्यवसायीहरूको संस्था उद्योग वाणिज्य सङ्घको नेतृत्व व्यवसायीहरूले नै गर्नुपर्ने र गैर व्यवसायीहरूलाई सुम्पिँदा व्यवसायीहरूको शिर लज्जाले निहुरिने कुरा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

कृष्ण प्रसाद रिजाल समूहबाट वरिष्ठ उपाध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष गोविन्द अधिकारी, महासचिव नारायण कार्की, कोषाध्यक्ष शारदाप्रसाद ढकाल, वाणिज्य सचिव उज्ज्वल थापा, उद्योग सचिव अर्जुन गजुरेल सदस्यहरूमा बालकृष्ण गिरी, गीताबहादुर सोडारी, लयनबहादुर योञ्जन, शंखर बजगाईँ, दीपक कुमार भण्डारी, देव नारायण श्रेष्ठ, रिता सापकोटा, रञ्जु गुरागाईँ आचार्य तथा लेखा संयोजक कृष्ण प्रसाद ओझा, सदस्य गोपाल फुयल र डम्मर कार्की रहेका छन् । त्यसै गरी टिकाप्रसाद कट्टेल समूहको वरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद ढकाल, उपाध्यक्ष डोलेश्वर तिम्सीना, महासचिव सन्तोष वान्तवा, कोषाध्यक्ष डिल्ली प्रसाद ढकाल, वाणिज्य सचिव रामकृष्ण खड्का , उद्योग सचिव हरी बहादुर कार्की सदस्यहरूमा टेक बहादुर सार्की, सुरेश कुमार श्रेष्ठ, महेन्द्र कुमार आचार्य, राम कुमार बस्नेत, मनोज गुरागाईँ, विष्णु प्रसाईँ, किरण देवी रौनियार, तारा शाक्य तथा लेखा संयोजक रुद्र थापा, सदस्य भक्ति विलास घिमिरे र ध्रुव प्रसाद दाहाल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ