- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ओली-प्रचण्ड-नेपाल नेतृत्वको सत्तारुढ पार्टी नेकपा चरम विवादमा फसिररहेका बेला सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)आधिकारिता दिएपछि कट्टेलले यसलाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष कट्टेलले हालको संसदीय प्रणालीबाट मुलुकले निकास नपाउने भएकाले नयाँ रणनीतिमार्फत अघि बढ्न केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आफ्नो पार्टीको सदस्यता लिन आब्हान गरेका छन् ।
उनले अबको मुलुकको निकासका लागि व्यवस्था परिवर्तन मुल मुद्दा रहने बताए । यसै शिलशिलामा नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै सर्वोच्चले बदर गरिदिएपछि हाम्राकुरा डटकमले अध्यक्ष कट्टेलसँग प्रतिक्रिया लिएको छ ।
ढिलैभएपनि अदालतले हजुरहरुको पक्षमा फैसला गरिदिएको छ, यसलाई कसरी लिनुभएको छ ?
खै मैंले सबै फैसला हेरेको पनि छैन् । म त एकजना साथीकोमा थिएँ त्यहीं थाहा पाएँ । एउटै नाम जुधेर आएकाले बदर गरिपाउँ भनेर भनेको हुँ । अदालतमा साथीहरु जानुभएको थियो । पुरानो एमाले र पुरानो माओवादी केन्द्र कायम रहने भयो भनेर फैसला भयो रे भन्ने थाहा पाएको हुँ ।
अबको राजनीतिक निकास कसरी लिनुपर्ला ?
यसको निकास भनेको पार्लियमेन्ट्री डेमोक्रेसी जो भनिएको छ यसबाट यो देशमा विद्यमान संकटको निकास आउँदैन् । अहिलेका नेताहरुले देश र जनताको बारेमा सोच्दैनन् । गुट बनाउने र आफू खाने मात्र हुन् । यसलाई कन्ट्रोल गर्ने प्रणाली छैन् । भएजति सबै संवैधानिक निकायलाई आफ्नो भागवण्डामा चलाएका छन् । यीनिहरु ‘असनका साँढे’जस्ता भएका छन् । यीनिहरुलाई जनताले पनि सजाय गर्न सकेका छैनन्, ठूला सबै नेतालाई जेल हाल्नुपर्ने हुन्छ ।
यदि ओली-प्रचण्डहरुले तपाईंलाई सँगै मोर्चावन्दी गरेर अघि बढौं भनेर अफर गरे भने के गर्नुहुन्छ ?
यो चाहीं काल्पनिक कुरा भयो । यी प्रतिक्रियावादीमा पतन भएकाहरुसँग सँगै अघि बढ्न सकिन्न । यीनिहरुलाई नेता मान्नै सकिन्न । यदि उनी(ओली-प्रचण्ड)हरु पार्टी सदस्य पाउँ भनेर आवेदन दिनुपर्छ ।
तपाइँको पार्टीको अबको मार्गचित्र वा रणनीति के हुन्छ ?
हामी सडकमा नै छौं । बैकल्पिक व्यवस्थाको खोजीमा छौं । संसदवादीहरुले संसदमा नाटक मन्चन गर्लान, हाँसखेल गर्लान त्यसका विरुद्धमा हामी अडिक छौं । अब विकल्पका लागि सडकबाटै भनिरहेका छौं–एउटा संघर्ष, एउटा क्रान्ति, एउटा जनविद्रोहबाट मात्र निकास निकाल्नुपर्छ भनेर । अहिलेको अवस्थामा चुनाव कसरी लड्ने ? यो व्यवस्थाबाट चुनाव लड्नै नसक्ने अवस्था छ । करोडौं पैसा चाहिन्छ निष्ठा र आदर्शले चुनाव जित्दैन । कालोबजारी र तस्करहरुले चुनाव जित्छन् तर निष्ठा र आदर्शको पराजय हुन्छ । त्यसैले व्यवस्था परिवर्तन हाम्रो मूल रणनीति हुन्छ ।