arrow

'दुई पटक निर्वाचन जितेको अनुभव भइरहेको छ'

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
parliament1.png

काठमाडौँ ।  प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन पुगेका सांसदहरूले सर्वोच्च अदालतको आदेशपछि पुनर्स्थापना भएको संसद्मा जनताका विषयवस्तुमा बहस हुने विश्वास व्यक्त गरेका छन् । सभामा प्रवेश अघि प्रतिक्रिया दिँदै उनीहरूले प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  सांसद यज्ञ सुनुवारले संसद् भङ्ग नहुनुपर्ने कुरा भएको थियो त्यसलाई अदालतले सच्याएसँगै हालका प्रतिनिधिसभाका सदस्यले दुई पटक निर्वाचन जितेको अनुभव भइरहेको प्रतिक्रिया दिए । उनले भने, “एउटा जनताबाट जितेर आइयो, अर्को सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई अस्वीकार गरी संसद् पुनर्स्थापना गरेसँगै दुई पटक चुनाव जितेको अनुभव भएको छ । जनताका विषयवस्तु संसद्मार्फत अभिव्यक्त गर्न फेरि पनि अवसर मिलेको छ, खुसी छौँ ।”

नेकपाकै सांसद खेमप्रसाद लोहनीले आफूहरूले निर्वाचन चाहेको भए पनि अदालतको फैसलालाई सम्मान गर्दै संसद्को अधिवेशनमा स्वाभाविक रूपले प्रवेश गर्दै खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, “एउटै बलियो पार्टीमा विवाद र विभाजनको रेखा कोरिसकेपछि गम्भीर मतमतान्तर सडकसम्म छताछुल्ल भएर चिन्तित तुल्याउनु स्वाभाविक हो तर चिन्ता गरेर बस्ने होइन, सामना गर्दै पुनः निर्माण र ताजगी बनाएर अघि जानुपर्छ, शङ्का कौतुहलता मेटिँदै जान्छ ।”   

जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले लोकतन्त्रको मूल्यमान्यता विपरीत पुस ५ गते सरकारले चालेका कदमलाई सर्वोच्च अदालतले संविधानको रक्षाका लागि आएको फैसला आफैँमा ऐतिहासिक भएकाले सदनको अधिवेशन सञ्चालन भएसँगै लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिए ।

 नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले लोकतान्त्रिक संस्कार दलमा नभएको सूचकको रूपमा विघटन भएको बताए । उनले भने, “अदालतले संसद् ब्युँतिएकाले वैधानिक, राजनीतिक र नैतिक रूपमा प्रतिपक्षले अहिलेको सरकारलाई समर्थन गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीले सहज निकास निकाल्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ