arrow

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छ : अर्थमन्त्री पौडेल

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
gold-commitee-finance-minister.jpg

काठमाडौँ। सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग बुधवार सिंहदरबारमा भएको भेटका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए। उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिन भित्रै यस विषयमा निर्णय हुने बताए। 

माग र आपूर्तिबिच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका विषयमा व्यवसायीहरूसँग चासो राखेका थिए। त्यस क्रममा सभासद् एवं महासङ्घका सल्लाहकार छविलाल विश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए।

त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे। उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे।

अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औँल्याए। आवश्यकता अनुसार कच्चा सुन सहज रूपमा उपलब्ध नहुँदा बजारमा अवैध रूपमा सुन भित्रिन सक्ने र त्यस वाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो।

यसैबीच आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीको क्षेत्रबाट समेट्नुपर्ने विषयहरूलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ