arrow

भारतीय सहयोगमा निर्मित ललितपुर सहकारी प्रर्वद्घन केन्द्रको नयाँ भवन उद्धाटन

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
indian-help-sahakari.jpg

ललितपुर । ललितपुर जिल्लास्थित सहकारी प्रर्वद्धन केन्द्रको नयाँ भवनको भारतीय राजदूतावासकी नियोग उपप्रमुखले उद्घाटन गरेकी छिन् । भारत सरकारको ३ करोड ५० लाख आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रर्वद्घन केन्द्र भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले उद्घाटन गरेकी हुन् । 

पूर्व अर्थमन्त्री उदयशमशेर राणा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरु उक्त समारोहमा उपस्थिति थिए । 

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुल्ला बजारका लागि प्रयोग गरिनेछ । 

दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ । 

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ । यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ । 

यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । 

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ । 

यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रर्वद्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढी सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । 

यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ । 

भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ । यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ । 

गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आबद्घ कृषिक्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको राष्ट्रिय पूँजी क्षेत्रको शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ । दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्नेबारे काम पनि गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ