arrow

भारतीय सहयोगमा बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरु

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
158342916_1061764561001237_.jpg

काठमाडौं । काठमाडौंमा अवस्थित बुढानीलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण शुरु भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा धर्मशाला पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा मन्दिरका मठाधीश स्वामी निगमानन्द, बुढानीलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष  लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्व हिन्दू महासंघका अध्यक्ष चक्रबन्धु अर्याललगायत भारतीय राजदूतावास तथा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति रहेको थियो ।

धर्मशालाको पुनर्निर्माण भारत सरकारको ५ अर्ब ८० लाख रुपैयाँको आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्थापना परियोजना मध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ । यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ । यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ । 

भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन् । 

यसअघि गत नोभेम्बर २०१९ मा कूल २ करोड २० लाखको लागतमा बुढानीलकण्ठ मन्दिरका लागि मठाधीश भवनको निर्माण भएको थियो । 

सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुनस्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ