- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको दशरथ रंगशालामा त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुँदैछ । मंगलबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।
नेपाल टेलिभिजनसँगको यसअघिको सम्झौता अनुसार त्रिदेशीय फुटबलको प्रत्यक्ष प्रसारण अधिकार नेपाल टेलिभिजनलाई दिइएको एन्फाका प्रवक्ता किरण राईले बताए ।
यस्तो छ खेल तालिका
खेलमा तीन टिम रहेका छन् । नेपाल, बंगलादेश र कीर्गिस्तान । नेपाल र बंगलादेशका सिनियर टिम हुँदा कीर्गिस्तानको यु–२३ को टिम हो ।
उद्घाटन खेलमा १० गते मंगलबार बंगलादेश र कीर्गिस्तान खेल्दैछन् ।
चैत १२ गते नेपाल र कीर्गिस्तान खेल्दैछन् ।
चैत १४ गते नेपाल र बंगलादेश खेल्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
उपाधि विजेताले पाँच हजार अमेरिकी डलर जित्नेछ ।
प्रिम्याच कन्फ्रेन्स सोमबार
प्रतियोगिताको प्रिम्याच कन्फ्रेन्स सोमबार हुँदैछ । पत्रकार सम्मेलन सोमबार दिउँसो २ बजे सोल्टी होटलमा आयोजना हुने एन्फाले जनाएको छ ।
हरेक टिमले उपाधि आफैले जित्ने दाबी गरेका छन् । सोमबार फेरि टिमहरुले उक्त दाबी दोहोर्याउने छन् ।